मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका बहादुर सिंह लामाको शपथ ग्रहण बुधबार (आज) हुने भएको छ । बुधबार बिहान मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम प्रदेश प्रमुख कार्यालय हेटौंडामा हुने भएको हो ।
मुख्यमन्त्री लामासहित प्रदेशको १३ मन्त्रालयको मन्त्रीहरूको शपथ पनि बुधबार नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
लामालाई मंगलबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एमाले २७ र कांग्रेसका ३७ गरी ६४ सांसदहरूको समर्थन उनी मुख्यमन्त्री नियुत्त भएका हुन् ।
सत्ता गठबन्धन दल नेकपा एमालेले प्रदेश सरकारमा जाने मन्त्रीको नाम र मन्त्रालयको टुंगो मंगलबार लगाए पनि नेपाली काग्रेसले भने मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन ।
एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी, किरण थापाले स्वास्थ्य, कृष्ण प्रसाद सिलवालले वन तथा वातावरण, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, अमन मास्केले भौतिक पूर्वाधार विकाश र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने तय भएको छ ।
कांग्रेसबाट नियुक्ति हुने ६ जना मन्त्रीको पनि बुधबार शपथ ग्रहण हुने बताइए पनि मन्त्री हुनेको नाम टुंगो लागेको छैन । कांग्रेसले आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, संस्कृति पर्यटन तथा सहकारी, खानेपानी ऊर्जा तथा सिँचाइ र युवा तथा खेलकुद मन्त्रालयको लागि मन्त्री टुंगो लगाएर शपथ ग्रहण गराउने भएको हो ।
को हुन् नवनियुक्त मुख्यमन्त्री लामा ?
कांग्रेसको भ्रातृ संगठन नेविसंघहुँदै पार्टी राजनीतिमा लागेका बहादुर सिंह लामा हाल कांग्रेस केन्द्रीय समिति सदस्य छन् । लामा २०२७ कात्तिक ८ गते नुवाकोटको किस्पाङ गाउँपालिका ५ मनकामनामा जन्मेका हुन् ।
लामाले गाउँकै स्कुलबाट आधारभूत तहको शिक्षा हासिल गरेका उनले माध्यमिक तहको अध्ययन नुवाकोटको विदुरबाट पूरा गरेका थिए । उनले काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातकसम्मको उच्चशिक्षाको अध्ययन पूरा गरेका छन् ।
उनले २०४३ मा नेविसंघको सदस्यता लिएका थिए । २०४५ सालमा नेविसंघ नुवाकोटको क्षेत्रीय सभापति भएका उनी पछि कांग्रेस नुवाकोटको जिल्ला उपसभापति भए ।
२०५४ को स्थानीय तहको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गाविस अध्यक्षमा निर्वाचित भएका लामा पार्टीको १३ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य भए भने १४ औँ महाधिवेशनबाट पनि उनले केन्द्रीय सदस्यमा निरन्तरता पाए ।
२०६४ सालमा नुवाकोट क्षेत्र नम्बर–३ बाट संविधानसभा सदस्य पदको निर्वाचनमा पराजित भएका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।
२०७४ मा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका लामा २०७९ मा भने बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । बागमतीको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका उनी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । निर्माण व्यवसायी समेत रहेका लामा देशकै पहिलो तामाङ समुदायका मुख्यमन्त्री हुन् ।

