मकवानपुर । बागमती प्रदेश, कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले आफ्नो कार्यकालमा भएको कार्यको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री श्रेष्ठले साेमबार १४ महिनाको अवधिमा भएको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
उक्त अवधिमा लम्पी स्किन डिजिज नियन्त्रण तथा रोकथामको लागि १ हप्ते अभियान चलाइ ४८ हजार ३ सय ६४ गाईमा निःशुल्क रुपमा खोप लगाइएको जानकारी दिए । कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैर प्राकृतिक विपद्बाट प्रभावित किसानलाई हालसम्म २ करोड ३० लाख राहत रकम ५९ हजार ८३ रुपैयाँ कृषकको खातामा पठाइसकेको उनकाे प्रगतिमा समावेश गरिएकाे छ ।
भेडाबाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रणका लागि बागमती प्रदेशको १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गरी ११ लाख ४२ हजार ३ सय २७ भेडाबाख्रालाई पिपिआर रोगविरुद्धको खोप लगाइएको समेत प्रगतिमा उल्लेख गरिएकाे छ । स्थानीय तहसँगको समन्वयमा प्रदेशका २६ स्थानमा ‘एक वडा, एक पशु स्वास्थ्य क्लिनिक’ स्थापनाका लागि निमार्ण कार्य अन्तिम चरणमा रहेको समेत उनले बताए ।
मन्त्री श्रेष्ठले प्रदेशका ८ जिल्लाको १० स्थानमा निर्माणाधिन शीत भण्डारहरुको निमार्ण कार्य ८६ प्रतिशत सम्पन्न भएको जानकारी दिए । उनले हेटाैैडाकाे तरकारी बजार निर्माणका लागि ४ करोड रकम विनियोजित गरेको समेत बताए ।

