मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले सडक डिभिजन कार्यालय हेटौंडामा ताला लगाएका छन् । निर्माण व्यवसायी सरकारको विकास निर्माणको काम गरेबापतको भुक्तानी नपाएपछि आन्दोलित हुदै डिभिजन सडकमा ताला लगाएका हुन् ।
विभिन्न क्षेत्रमा निर्माणको कार्य सम्पन्न हुँदा समेत भुक्तानी नपाएकाे विराेधमा निर्माण व्यवसायीले भुक्तानी निकासा माग गर्दै डिभिजन सडक कार्यालय हेटौंडामा शुक्रबार तालाबन्दी गरी धर्ना दिएका छन् । निर्माण व्यवसायी संघ मकवानपुरले डिभिजन सडकमार्फत भएका कामको भुक्तानीको निकासाका लागि माग गर्दै धर्ना र तालाबन्दी गरिएको हो ।
कार्यालयकाे मुख्यद्वारमा संघ मकवानपुर अध्यक्ष बालगोपाल कँडेललगायतका निर्माण व्यवसायीले तालाबन्दी गरी विरोध जनाएका थिए । संघले सडक र पुल निर्माण गरिएको २५ करोड भन्दा बढी रकम भुक्तानी नपाएको जनाएको छ । गत फागुनदेखि नै निर्माणको कामको बिलसहित भुक्तानी माग गर्दासमेत भुक्तानी पाएका छैनन् । सडक डिभिजन कार्यालय, हेटौंडा मातहतका मकवानपुर, बारा र पर्सा जिल्लामा भएका कामको भुक्तानी नपाएपछि तीन जिल्लाका निर्माण व्यवसायी संयुक्त रूपमा धर्नामा बसेका थिए ।
निर्माण व्यवसायीले लगाएको ताला प्रहरीले खोलेको थियो । सडक डिभिजन कार्यालय, हेटौंडाका प्रतिनिधि र धर्नामा बसेका निर्माण व्यवसायी संघ मकवानपुरका पदाधिकारीबिच छलफल भएको थियो । छलफलमा निर्माण व्यवसायीले तत्काल भुक्तानीको व्यवस्था गर्न माग गरेपछि सडक डिभिजनका कर्मचारीले भुक्तानीका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
संघ मकवानपुरका अध्यक्ष कँडेलले व्यवसायीले काम सम्पन्न गरेर भुक्तानी माग गरेकाे लामाे समय हुँदा समेत भुक्तानी नपाएपछि धर्ना र तालाबन्दी गरिएको जानकारी दिए । निर्माण व्यवसायीको माग तत्काल सम्बोधन नभएमा थप आन्दोलनका कार्यक्रम गर्न संघ बाध्य हुने समेत उनले बताए । ‘कार्यालयमा ताला लगाउनु रहर हाेइन बाध्यता हाे’ कँडेलले भने आफ्नाे सम्पत्ति वैंकमा राखेर लगानि गरि निर्माण गरेका काम सम्पन्न भईसकेपछि पनि भुक्तानी नहुँदा यस्ताे कदम चाल्न बाध्य भएका हाैं ।’ ‘निर्माण व्यवसायीलाई राज्यले पिडामा पारेकाे छ हाम्राे माग तत्काल सम्बाेधन नभए शसक्त रुपमा सडकमै आन्दाेलनमा उत्रने छौं’ उनले भने ।
संघका अनुसार डिभिजन सडकलगायतका कार्यालय र स्थानीय तहका ५० करोड रुपियाँभन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी पाउन बाँकी रहेको छ । काम गरेको बिलसहित भुक्तानीलाई अनुरोध गर्दा समेत विभिन्न बहानामा भुक्तानी नपाएको संघले जनाएकाे छ ।
संघले डिभिजन सडक मार्फत निर्माण व्यवसायीले करिब १७ करोड रुपियाँ निर्माणको कामबापत भुक्तानी पाउन बाँकी रहेको भन्दै तत्काल भुक्तानीको व्यवस्था मिलाउन माग गरेको छ । स्थानिय तहहरुबाट १५ कराेड भुक्तानी हुन बाँकी रहेकाे छ भने पुल निर्माणकाे १२ कराेड, सडक निर्माणकाे १५ कराेडसम्म भुक्तानी रहेकाे संघले जनाएकाे छ । जिल्लाभर करिव ५० कराेड रकम भुक्तानी बाँकी रहेकाे बताइएकाे छ ।

