सूर्य आकाशका जस्तै अर्का भानु तिमी धरा
नेपाली दिलमा चुम्दै दौडिएका गरा गरा
नभमा झुल्किदै हाँस्दै उषा किरणका छरी
धरा भानु!तिमी सारा अन्धकार सबै हरी ।
तेस्रो भानु गरा जोड्ने एकीकरण तीरमा
अक्सिजन तिमी हाम्रो भाषासूत्र समीरमा!
तोतेमा छौ तिमी भाका थोतेमा लय तानका
गीत सङ्गीतका केन्द्री नेपाली शान मानका ।
अन्यायीमा तिमी राम न्यायीमा छौ विभीषण
व्यङ्ग्यनायक हे,स्रष्टा!श्रध्दाभाव छ अर्पण!
देशमा,भेषमा,भाषा, संस्कृतिमा रमाउँछ
भाषा,भेष,कला भित्रै सौन्दर्य मुस्कुराउँछ ।
शिष्टताका लिई शब्द मित्रमा भई भिन्नका
छिन्नभिन्न भए जम्मै तिमी एक अभिन्नका
व्यङ्ग्यका वाँणले हान्दा उडुस उपियाँनिर
पुगी बेजोडले ठोक्दा झुके अन्यायका शिर।
जनजीवनका भाषा एकीकरणका छत
अजरामर छौ साँच्चै नहुने दाग लत्पत
समद्रष्टा छ यो चन्द्र रातमा हुन्छ शीतल
नेपाली समका द्रष्टा भानु!झल्मल झल्मल।
धनकुटा
छन्द अनुष्टुप

