मकवानपुर । नेकपा (एमाले) मकवानपुरको जनसंगठन समन्वय संयन्त्रको पहिलो बैठकले वार्षिक कार्ययोजना अनुमोदन गरेकाे छ । संयन्त्रकाे शुक्रबार बसेकाे पहिलाे बैठकले जनसंगठन परिचालनका सम्बन्धमा विभिन्न निणर्यहरु समेत गरेकाे छ ।
बैठकले साउन महिनाभित्र सबै जनसंगठनको वार्षिक कार्ययोजना निर्माण गर्ने, साउन ६ गते पार्टी जिल्ला कमिटीले आयोजना गर्ने पुष्पलाल स्मृति दिवस सफल बनाउन सबै जनसंगठनको उपस्थिति गराउने, जिल्ला विपद् व्यवस्थापन तथा स्वस्यमसेवक विभागसँग समन्वयमा विपदमा उद्धार र राहतलगायत कार्यमा जनसंगठनहरु परिचालित हुनका लागि बैठकले निर्देशित गरेको छ । त्यसैगरी, पार्टी जिल्ला कमिटीको सर्कुलरअनुसार असोज मसान्तसम्म अवधि पुगेका सबै जनसंगठनको जिल्ला एवम् पालिका तहसम्म अधिवेशन गर्नसमेत बैठकले निर्देशित गरेको छ ।
एमाले केन्द्रीय सदस्य केदार न्यौपानेले जनसंगठनहरुले वर्गीय एवम् सामुदायिक मुद्दाहरु सम्बोधन गर्दै संगठन विस्तार र पार्टी निर्माणको आधार तयार गर्नुपर्ने बताए । केन्द्रीय सदस्य रामेश्वर रानाले जनसंगठन समन्वय सम्बन्धी निर्देशिका-२०७८ ले संयन्त्रमार्फत जनसंगठन परिचालनको स्पष्ट व्यवस्था गरेकोले जनसंगठनहरु सोही अनुसार क्रियाशील हुनुपर्ने बताए । यसैगरी, एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टीको मिसन-२०८४ लाई सफल बनाउन जनसंगठनको महत्वपूर्ण भूमिका हुने भएकाले योजनाबद्ध रुपमा जनसंगठन परिचालित हुनुपर्ने बताए ।
संयन्त्र संयोजक सन्तोष पौडेलको अध्यक्षता एवम् पार्टी केन्द्रीय सदस्य न्यौपानेको प्रमुख आतिथ्यता भएकाे बैठकमा पार्टी जिल्ला कमिटी उपाध्यक्ष हिदम लामा, सचिव सीता विष्ट, संयन्त्र सह-संयोजक मिलन पाठक, विपद् व्यवस्थापन तथा स्वयमसेवक विभाग प्रमुख शिवहरि दाहाल, जनसंगठनहरुका इन्चार्ज, सहइन्चार्ज तथा जिल्ल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

