मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनबाट विश्वासकाे मत प्राप्त नगरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार राति संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । असार ३० गते आइतबार साँझ ५ बजेभित्र प्रतिनिधिसभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका थिए । त्यसलगत्तै संविधानविद्सँग परामर्श गरेका राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
संविधानविद्हरूले संविधानको धारा ७६ (२) अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गर्न सुझाव दिएका थिए ।
यसैवीच नयाँ सरकारको दाबी गर्न शुक्रबार राती नै नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू शीतल निवास जाने लागेका छन् । शुक्रबार राति सवा ९ बजे नयाँ सरकारकाे दाबी पेस गर्न दलका नेताहरू शीतल निवास जान लागेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत गुमाएपछि आजै राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । कांग्रेसका सांसदको हस्ताक्षरसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका हुन् ।


