मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको १२ औं जिल्ला अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।
एमाले मकवानपुरको जेठ १८ र १९ गते हुने १२ औं जिल्ला अधिवेशनको उद्घाटन गर्न ओली हेटौंडा आउने कार्यक्रम तय भएको मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक कमिटीले जानकारी दिएको हो।
जिल्ला अधिबेशनको तयारी अन्तिम चरणमा पुगेको समेत पत्रकार भेटघाटमा बताइएको छ । अधिवेनका लागि विभिन्न समितिहरु गठन गरिएको छ । कुल ७६९ जना अधिवेशन प्रतिनिधिले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु चयन गर्ने एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।
अधिवेशनमा जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागीता रहने एमाले मकवानपुरका इन्चार्ज देवि ज्ञवालीले बताए।
अधिवेशनमा मकवानपुर जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरुबाट अधिवेशनको लागि प्रतिनिधि चयन गरिएको एमाले मकवानपुर सचिव नवीन सिग्देलले जानकारी दिए ।
अधिवेशनमा मजदुर, पेशागत जनसंगठन, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहाकार परिषद समेतबाट छानिएर ७ सय ६९ प्रतिनिधीहरुले सहभागीता जनाउने छन् । अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने सिग्देलले बताए । त्यसपछि जिल्ला कमिटीले १० प्रतिशत सदस्य मनोनीत गर्नेछ ।
अधिबेशनको लागि दुई सय जना स्वयंसेवक परिचालन गरिनुको साथै १२ वटा समितिहरु बनाई सम्पूर्ण तयारीको काम भईरहेको अध्यक्ष श्रेष्ठले बताए । उद्घाटन सत्रमा पार्टीका केन्द्रीय नेताहरु समेतको सहभागिता रहने बताइएको छ।

