मकवानपुर । मकवानपुरे साहित्यकार पुरूषोत्तम आचार्यकाे “उठ हे युवा” बाेलकाे गीत सार्वजनिक भएकाे छ । मंगलबार हेटाैडा एक कार्यक्रम गरी गीतसंगै लिरिकल भिडियो सार्वजनिक गरिएकाे हाे ।
गीतमा आचार्यको रचना तथा सङ्गीत रहेको छ भने आचार्यसहित, हरि पौड्याल, आरोह सीले आवाज दिएका छन् । पुरुषोत्तम आचार्य युट्युब च्यानलबाट सार्वजनिक उठ हे युवा गीतका सम्बन्धमा श्यामकुमार बानियाँ, शान्ति प्रिय वन्दना, समर्पण न्यौपाने लगायतको टिप्पणी गरेका थिए । कार्यक्रमका क्रममा उक्त गीत प्रत्यक्ष गायनका साथ सार्वजनिक गरिएको हो ।
नवसर्जक नेपालका महासचिव न्यौपानेले आम जनजीविकाका सवाल उठाएकाे, युवाको भूमिका, क्रान्तिका कुरा, परिवर्तनसमेत सन्देश उठान गरेकाे बताए । नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्तिले गीतले देश र युवाको समस्या उठान गरेको र शब्द मन मष्तिष्क मै छोएकाे बताइन् । साहित्य सङ्गम मकवानपुरका सल्लाहकार बानियाँले कविता, गजल, गीत लेखनका साथसाथै गायनमा समेत सक्रिय आचार्यका यस अघि प्रकाशित पुस्तक तथा गीतले परिचय बनिसकेको बताए । गीत रेकर्डिङमा शब्दलाई सङ्गीतले न्याय गर्न नसकेको महशुस गरेको उनले बताए ।
गीतकार सुवासचन्द्र ढुङ्गेलले काठमाडौंमा समेत गीतमाथि यसरी चर्चा कमै हुने गरेको बताउँदै गीतको शब्दको तौल अनुसार सङ्गीत र गायनले त्यसलाई अझ सुन्दर बनाउने बताए । देशभक्तिका गीत सुन्ने चलन हराइरहेको समयमा गीत रेकर्ड भइ सार्वजनिक हुनु नै सर्जकको सफलता रहेको बताए । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले मानव संवेदनासँग सबैभन्दा सजिलै जोडिने साहित्य, गीत, सङ्गीतका रचना भएकोले आचार्यका गीतले परिवर्तनको बाहक बन्ने अपेक्षा गरेकाे बताए । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले आशा जगाउने गीतमार्फत् युवालाई यही माटोमा रहेर आफ्नो कर्म गर्न प्रेरित गर्ने कालजयी गीत बनेको प्रतिक्रिया दिए ।
आचार्यकाे यस अघि ‘घाम त झुल्क्यो’ गीतको एल्बम सार्वजनिक भैसकेको छ । मकवानपुरकाे हर्नामाडी जन्मस्थान रही मकवानपुरलाई नै कर्म थलो बनाउँदै आएका उनले साहित्यकाे प्रगतिवादी धारमा अनवरत रुपमा कलम चलाउँदै आएका छन् । आचार्यका हालसम्म ५ वटा कृतिहरु प्रकाशित छन् । उनकाे भोको मझेरी – मुक्तक संग्रह २०६८, मुटु र गीतहरू – गीत संग्रह २०७०, Roaring flames – संयुक्त कविता संग्रह- २०७७, छैनौ कसोरी तिमी- ऊर्जाकाव्य २०७९, जुनेली – खण्डकाव्य, २०८० प्रकाशित भएका छन् ।
माध्यमिक तहमा नेपाली विषय अध्यापन गराउदै आएका उनकाे आफ्नै शब्द संगीत र आवाजमा केहि गीत, गजलहरू समेत स्वरबद्ध छन् । सर्जक संजाल मकवानपुरकाे आयोजनामा भंएकाे गीत सार्वजनिक कार्यक्रममा ढुंगेलकाे प्रमुख आतिथ्यता तथा निखिलकाे सभाध्यक्षता रहेकाे थियाे ।

