मकवानपुर । मकवानपुरकाे हेटाैडामा विश्व वातावरण दिवस सप्ताहाव्यापी रुपमा विविध कार्यक्रमसहित मनाउने भएकाे छ । टाेल विकास संस्था नगर समन्वय समितिले जेठ १७ देखि २३ गतेसम्म वातावरण दिवस मनाउने भएकाे हाे ।
यद्यपी वडा स्तरीय टाेल विकास संस्थाहरुले यस अघि नै दिवस विशेष कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
हेटाैडामा पत्रकार भेटघाटमार्फत यस्ताे जानकारी सार्वजनिक गरिएकाे हाे । टाेल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुवप्रसाद अधिकारीले विगत २१ वर्ष अघिदेखि हेटौडावासीको पहिचान तथा वातावरणप्रतिको सामुहिक सचेत प्रतिवद्दता अभिव्यक्ति गर्ने कार्यक्रमकाे रुपमा जनसहभागितामा विश्व वातावरण दिवस सप्ताहव्यापी विविध कार्यक्रमसहित मनाउँदै आएको जानकारी दिए ।
यस वर्ष पनि सप्ताहव्यापी रुपमा ‘Our Land. Our Future. We are #Generation Restoration.” भन्ने मुल नाराका साथ ५२ औं विश्व वातावरण दिवस मनाइने अधिकारीले बताए । जेठ २३ गते वातावरण सचेतना मुलक र्यालीसहित सम्मान पुरस्कार वितरणका साथ कार्यक्रमकाे समापन गरिने उनले जाकारी दिए ।
जेठ १७ गते हेटाैडा १९ वस्तिपुरमा रक्तदान कार्यक्रम गरी शुभारम्भ गरिने कार्यक्रमकाे दोस्राे दिन फाेहाेर खाेज चुनाैति हेटाैडा १० फरेष्ट्री अगाडीबाट बसपार्कसम्म हुनेछ । यसैगरी जेठ १८ गते नै प्लाष्टिक जन्य सामग्रीहरुको विकी वितरण नियन्त्रण गर्न सचेतना अभियान कार्यक्रम हेटौडाकाे वसपार्कमा हुने अधिकारीले जानकारी दिए । यस्तै सफा हेटौडा अभियान अन्तरगत टोल विकास संस्थाहरुमा सरसफाई कार्यक्रम जेठ १९ गते नगरमा रहेकाे सबै टाेल विकास संस्था अन्तरगत गरिने छ । जेठ १९ गतेनै प्राकृतिक वातावरणमा मेयर तथा उपमेयरसँग बालबालिका कार्यक्रम वन विज्ञान अध्ययन संस्थानमा हुने उनले जानकारी दिए ।
यसैगरी फोहोर मैला व्यवस्थापनमा स्थानीय नागरीकको भूमिका” विषय बाल क्लव स्तरीय निबन्ध लेखन प्रतियोगिता रोयल प्यालेसमा जेठ २० गते हुने छ भने वातावरणीय सचेतना मुलक साईकल रयाली तथा सम्मान कार्यक्रम जेठ २१ गते हेटाैडा ४ हुप्राचौरदेखि उपमहानगरपालिका कार्यालयसम्म हुनेछ ।
यस्तै जेठ २२ गते मककानमा मन्दिर जाने बाटाे हेटाैडा ५ र जलेश्वर मन्दिर परिसर हेटौडामा वृक्षरोपण कार्यक्रम गरिने अध्यक्ष अधिकारीले पत्रकार भेटघाट जानकारी दिए । जेठ २२ गते नै खेर गएका वस्तुहरुबाट उत्पादित सामग्रीहरुको प्रतिष्पर्धा राेयल प्यालेसमा हुने उनले बताए ।
जेठ २३ गते कपडाकाे झाेला वितरण कार्यक्रम राेयल प्यालेसमा हुने छ भने वातावरणीय सचेतना मुलक र्याली सम्मान पुरस्कार वितरण तथा सप्ताहव्यापी कार्यक्रम समापन हुप्राचौरबाट सुरु भई राेयल प्यालेसमा गरिने बताइएकाे छ ।
समुदाय परिचालनका माध्यमबाट समावेशी, समतामुलक, वातावरणमैत्री दीगो विकास हासिल गर्न हेटौडामा २०५६ सालदेखि टोल विकास सस्थाहरु स्थापना गरिएको हो। नगरका प्रत्येक नागरिकहरुको सहभागितालाई अभिवृद्धि गराउदै समग्र टोल, वडा तथा उपमहानगरपालिकाको विकासमा योगदान गर्न तथा विकासका अवधारणाबारे टोलका हरेक सदस्यहरुलाई जानकारी गराउदै सचेत, समुन्नत, श्रञ्जनशील र विकसित हेटौडा बनाउन अभियानमा टाेल विकास संस्थाले कार्य गर्दै आएकाे अध्यक्ष अधिकारले जानकारी दिए ।

