मकवानवुर । बागमती प्रदेश सभा सदस्य सुष्मा भुजेलले नागरिकको सुझाव सरकारले सुन्नेमात्रै हैन कार्यान्वयमा ल्याउनु पर्ने बताएकी छिन् ।
विविधतायुक्त नागरिकहरुको अनुभवबाट कानुन नै फेर्न सकिने व्यवस्था भएकोले सरकारले नागरिकसंग जोडिने गरि नीति निर्माण गर्नुपर्ने उनले बताइन् ।
सरकार अपाङ्गतामैत्री सवाललाई विशेष संवेदनशील हुनुपर्ने उनले बताइन् । हेटौंडामा भएको अपाङता मैत्री पर्यटन प्रवद्र्धन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सांसद भुजेलले यस्तो बताएकी हुन् । राष्ट्रिय अपांग महासंघको आयोजना र संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको सहकार्यमा सांसद भुजेलले अब बन्ने नीति बिधिमा अपाङ्गताको क्षेत्रबाट प्राप्त सुझावलाई समेट्ने प्रतिवद्धता व्यक्त गरिन् ।
अपाङताको सवालमा अभिभावकहरुलाई समेत परामर्श कार्यक्रम आवश्यक भएको उनले बताइन् ।
पर्यटकीय क्षेत्र अपाङमैत्री भए नभएको अनुगमनपछि आवश्यक सुझावको लागि कार्यक्रम गरिएको राष्ट्रिय अपाङग महासंघ बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले बताए । “हरेका क्षेत्र अपाङ्गमैत्री हुनु आवश्यक छ, पर्यटकीय क्षेत्रमा पनि सहजै पहुँच राख्न पाउने हाम्रो पनि अधिकार हो” अध्यक्ष लम्सालले भने ।
प्रदेशको विभिन्न जिल्लाका सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रममा पर्यटकीय क्षेत्रमा अपाङ्ता र पहुँचयुक्तता, पहुँचयुक्त पर्यटन पुर्वाधार विकास, पर्यटकीय क्षेत्र हेटौंडा शहिद स्मारकको हालको अवस्था, सुधार गर्नुपर्ने पक्षहरु, अपाङ्गता मैत्री, पहुँचयुक्त पर्यटन प्रवर्धनको सम्भावना, चुनौती र फाइदाहरु, पहुँचयुक्त पर्यटन प्रवर्धनमा अपाङता भएका व्यक्तिहरुको आवश्यकतालगायतको सवालमा प्रस्तुती तथा छलफल गरिएको महासंघ प्रदेश व्यवस्थापक सिता मल्ल ठकुरीले बताइन् ।

कार्यक्रमको उद्घाटन चरणमा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण देवकोटा, मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख रेवा रेग्मी, राष्ट्रिय अपाङग महासंघका महासचिव सुगम भट्टराई, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलगायतको उपस्थिती रहेको थियो ।

