मकवानपुर । मकवानपुर जिल्लाको ऎतिहासिक मकवानपुरगढीबाट गोरखा जिल्लाको गोरखा दरबारसम्म बिहीबार साइकल यात्रा हुने भएको छ ।
२५६७ औं बुद्धजयन्तीको अवसरमा हिमलयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा दुईदिने साइकलयात्रा गरिएकाे हाे । मकवानपुरगढी गाउँपालिका–२ को समन्वयमा आन्तरिक पर्यटन प्रवर्धनकोलागि मकवानपुरगढीदेखि गोरखा दरबारसम्म २ जिल्लाको ऎतिहासिक स्थानलाई जोड्न साइकलयात्रा गर्न लागिएको हो ।
साइकल यात्रामा १२ जनाले सहभागिता रहेकाे सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले बताए । साइकलयात्रामा ६० वर्ष उमेर पार गरेका ४ जना, ५० वर्ष उमेर पार गरेका ४ जना, ४० वर्ष र ३० वर्ष उमेर पार गरेका २/२ जनाले सहभागिता रहेकाे छ । बिहीबार (आज) बुद्धजयन्तीको दिने मकवानपुरगढीबाट सुरु हुने साइकलयात्रा शुक्रबार साँझ गोरखा दरबार पुगेर समापन गरिने उनले जानकारी दिए ।
साइकलयात्रामा सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्य, कोषाध्यक्ष लक्ष्मीचरन श्रेष्ठ, सदस्यहरु बुद्धिबहादुर आलेमगर, अशोक जोशी, बरुण खतिवडा, सुरज लिम्बु, राजु थापा मगर, दुर्गाप्रसाद लामिछाने, कीर्तम मानन्धर, प्रदीप थापा क्षेत्री, लेखनाथ ढकाल, नवराज नेपालकाे सहभागिता रहेकाे छ । फरक क्षमता भएका सुरज लिम्बुले एकै हातले साइकल यात्रा गर्दैछन् ।

