मकवानपुर । संघीय सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बागमती प्रदेशकाे प्रदेशस्तरीय सुरक्षा समितिकाे गाेष्ठीमा सम्बाेधन गर्न हेटाैडा आएका छन् ।
गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले सुरक्षा सम्बन्धि निर्देशन दिने बताइएकाे छ । कार्यक्रममा गृह सचिव एकनारायण अर्याल, बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सचिव गोबिन्द बहादुर कार्की, प्रहरी महानिरीक्षक बसन्त कुँवरलगायतकाे उपस्थिति रहेकाे छ ।
यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक, अनुसन्धान निर्देशक,नेपालो सेना, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, गृह मन्त्रालयका सचिवहरु, विपद प्राधिकरण कार्यकारी प्रमुखहरुकाे प्रस्तुतिकरण रहने छ । प्रदेशकाे १३ जिल्लाकाे जिल्लागतपछी गृहमन्त्रालयको बिषयगत प्रस्तुतीकरण हुनेछ तालिका रहेकाे छ ।
त्यसपछि मन्त्रि लामिछानेले विशेष निर्देशन दिने बताइएकाे छ । गोष्ठिमा बागमती प्रदेशभरीका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित प्रदेश अन्तर्गत १३ वटै जिल्लाका सुरक्षा समितिका पदाधिकारी सहभागी भएका छन् । जिल्ला सुरक्षा समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी, आर्मी, सशस्त्र, अनुसन्धानका प्रमुख एवं सहायक प्रमुख जिल्ला अधिकारी पदाधिकारी रहने व्यवस्था रहेको छ । प्रदेश समन्वय समितिको बैठक यसअघि ६ वटा प्रदेशमा सम्पन्न भइसकेको छ ।
बैठकमा विशेष गरी प्रदेशभरको शान्ति सुरक्षा, सेवा प्रवाहको अवस्था, विपद् नियन्त्रणका विषयमा छलफल हुने जनाइएको छ । ‘शान्ति सुरक्षा कायम गर्न समाजमा गरिएको नवीन कार्य, सुरक्षा थ्रेडको अवस्थालगायत विषयमा वैठकमा छलफल हुनेछ ।
विभिन्न केसमा चर्चामा रहेका मन्त्री लामिछाने मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहियालाई पक्राउ परेपछि अझै चर्चामा छन् । हिजाेबाट सुरु भएकाे गोष्ठि आजसाँझसम्म चल्नेछ ।

