मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक खरिद नियमावलीमा संशोधन आवश्यक रहेकाे बताएका छन् । शुक्रबारबाट हेटौडामा सुरु भएकाे निर्माण व्यवसायी महासंघको २५औं साधारण सभालाई सम्बाेधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहाले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री दहालले सरकारले बजेटको तयारी गरिरहेको अवसरमा यस साधारण सभाले विशेष महत्व राख्ने बताए । निर्माण कम्पनीको भुक्तानी समयमा हुने व्यवस्था मिलाउने बताउँदै उनले भने निर्माण व्यवसायीहरू वातावरण संरक्षणप्रति सचेत हुन जरुरी छ । सरकार र निर्माण व्यवसायीबीच आपसी विश्वासको वातावरण सिर्जना गर्नुपर्ने उनकाे भनाई थियाे । ‘अर्थतन्त्रलाई दबावमुक्त बनाउन सामूहिक विवेकले वजेट प्रस्तुत गर्ने र जनताको सुझाव लिएर नीति तथा कार्यक्रम ल्याउने उनले बताए ।
प्रधानमन्त्रीले निर्माण व्यवसायी महासंघद्वारा प्रकाशित ‘नेपाली निर्माण विशेषाङ्क २०८०’ पुस्तकको विमोचन गरे । कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरू ध्रुवकार्की र रोशनश्रेष्ठलाई सम्मान गरिएको थियो । २५औं साधारण सभा महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा भएकाे हाे ।

