मकवानपुर । मकवानपुरकाे हेटौडामा सालक दिवस मनाएको छ। हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले वक्तृत्वकला प्रतियोगिता आयोजना गरि दिवस मनाएको हाे ।
विश्व सालक दिवसको अवसरमा शनिबार रानी सामुदायिक वन उपभोक्ता समूहले सालक संरक्षणमा सामुदायिक वन समुहकाे भूमिका र दायित्व विषयक वक्तृत्वकला आयाेजना गरेकाे हो। १२ जनाले सहभागिता जनाएको वक्तृत्वकला प्रतियाेगितामा बेतखाेल्सी सामुदायिक वन उपभोक्ता समुहकी क्रिष्टिना खतिवडा प्रथम भएकी छिन् । उक्त समूहकी समीक्षा आचार्यले द्वितीय स्थान हासिल गर्दा सुन्दर सामुदायिक वनका अतीत अधिकारी तृतीय हुन सफल भए । प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमश ५ हजार, ४ हजार र ३ हजार प्राप्त गरे ।
२०६२ सालदेखि रानी वनले सालककाे संरक्षण, यसकाे बासस्थान, आहारकाे संरक्षण र कानूनी ब्यवस्थालगायतमा समुदायस्तरमा काम गर्दै आएकाे छ । समूहकाे सेवा क्षेत्रभित्र ५० भन्दा बढी सालक रहेकाे कार्यालय सचिव भीमसेन पाौडेलले बताएका छन्।
समूहका अध्यक्ष विष्णुप्रसाद न्याैपानेकाे सभाध्यक्षता त़़था हेटाैडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालकाे प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, अशाेक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राई, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, सनाैलाे महिला समूहकी अध्यक्ष पवित्रा रुम्वा, समूहकी काेषाध्यक्ष गाेमा लामिछाने लगायतकाे सहभागीता थियाे ।

