मकवानपुर । मकवानपुर जिल्ला र बारा जिल्लाको सिमानामा पर्ने दक्षिण यसीयाकै पहिलो मानव निर्मित सुरुङमार्ग पुननिर्माण सकिएको छ । तर सर्वसाधारणको लागी प्रवेशमा भने खुला गरिएको छैन ।
बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा न १५ मा पर्ने चुरियामाई सुरुङमार्ग पुननिर्माणको लागि २०७८ साउन १४ गते शिलान्यास गरिएको थियो । असोजमा पुनर्निमाण सकिए पनि अन्य फिन्सिङको काम बाँकी भएकोले केही समय अझै लम्बिएको हो । ट्रस्ट हाल्ने समेतको काम भएको छ ।
राजधानी काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराई मार्गसम्म जोड्न चन्द्र शमशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङ मार्ग पुनर्निर्माणपछि अब वारपार गर्न सकिने भएको छ । यो ऐतिहासिक सुरुङ मार्गको एउटा खण्ड करिब ४० मिटर भत्किएको थियो । त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको बागमती प्रदेशको भौतिक पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले बताए । प्रवक्ताका अनुसार अब केही दिनपछि विधिवत रुपमा सुरुङ मार्ग सर्वसाधारणको लागि खुला गरिनेछ । अध्ययक केन्द्रको रुपमा विकास गर्न स्थानीय तहलाई हस्तान्तरण गर्ने वा पर्यटन मन्त्रालय अन्तरगत हुने भन्ने निर्णय हुन बाँकी रहेको ओझाले बताए ।
“सुरुङमार्ग भन्नासाथ सवारीमै ओहोरदोहोर गर्ने भन्ने बुझिन्छ, तर यो यस्तो सुरुङमार्ग हैन, यो सुरुङ मार्ग ऐतिहासिक हो, जहाँबाट २०२० सालसम्म सवारी नै आवतजात हुने गर्दथे, अब अध्ययन, अनुसन्धानको लागि पर्याटनको लागि खुला हुने छ ।”
यो सुरुङमार्ग पर्यटकीय र अध्ययन थलो हो । यसलाई अवलोकन र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको निर्देशनालयका प्रवक्ता ओझा बताए । चुरियामाई सुरुङ विक्रम संवत् १९७४ मै बनेको थियो । नेपालका प्रथम स्नातक इन्जिनियर भनिने ब्रिगेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङ मार्ग डिजाइन गरेका थिए । चुरे पर्वतमा बनेको यो सुरुङ मार्ग साढे २ मिटर चौडाइ, ३ मिटर उचाइ र ५०० मिटर लम्बाइको छ । जसको एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटर मात्र बाँकी रहेको थियो ।
माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको यो सुरुङ मार्गबारे स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक “दी हिमालयन किंडम अफ नेपाल”मा पनि चर्चा गरेका छन् । उनले यसलाई “एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने” उल्लेख गरेका छन् ।
राणाकालमा रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको तत्कालिन सदरमुकाम भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न समस्या थियो । चुरे पर्वत फोरेर घुमाउरो बाटो बनाउनुको विकल्पमा यो सुरुङमार्गबाट सीधा मार्ग खनेर गाडी चलाइएको थियो । यही सुरुङ मार्ग हुँदै चल्ने गाडीहरुले मकवानपुरको तत्कालिन सदरमुकाम भीमफेदीसम्म समान ल्याउँथे । काठमाडौंसम्म जोडिने सडक नभएकाले भीमफेँदीबाट भरिया लगाएर काठमाडौंसम्म सामान भित्राइन्थ्यो ।
प्रजातन्त्र पुनर्स्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसैबीचमै यो सुरुङ मार्गको बीच खण्डमा विष्फोट गराएर भत्काएर त्यसैमाथि सडक बनाइएको थियो । २०७२ सालको भुकम्पले यसका अझै बढी क्षति गराएपछि सुरुङमार्ग गुमानाम बन्दै आएको थियो । प्रदेश सरकारले त्रिभुवन राजपथको बक्स कटिङ रोडदेखि दक्षिणतिरको भागमा धसिएको स्थान मर्मत गरेर सुरुङ मार्ग खुलाइएको भौतिक पूर्वाधार निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार सुरुङ मार्गको २० मिटर जति भाग धसिएको अनुमान गरी मर्मतका लागि डीपीआर निर्माण गरिएको थियो । तर मर्मत सुरु गरेपछि ४० मिटर भाग धसिएको पाइएको थियो । यसैगरी सुरुमा १९८ मिटर लम्बाइमा पुनर्निर्माण गर्नुपर्ने पूर्वानुमान भए पनि मर्मत गर्दै जाँदा २२२ मिटर लम्बाइमा निर्माण गर्नुपरेको बताइएको छ ।
सुरुमा ३ करोड ३६ लाख लागतमा ठेक्का गरिएको थियो तर लम्बाइ बढेपछि संशोधित बजेट ३ करोड ८४ लाख पुग्यो ओझाले बताए । माउन्टेन इन्फ्रा कन्स्ट्रक्सनले २०७७ साल वैशाखमा सुरुङ मार्ग पुनर्निर्माणको ठेक्का पाएको थियो । सुरुमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोरोना महामारी, प्राविधिक कठिनाइ देखाउँदै दुई पटक म्याद थपेर काम गरिएको हो ।
पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको थियो, अहिले पछि सर्वसुलभ उपलब्ध हुने निर्माण सामग्रीहरु नै प्रयोग गरिएको छ । उक्त मार्गबाट २०१९ सालसम्म सवारी आउजाउ हुने गरेको र आफूले यात्रा गरेको बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको भनाइ छ ।
“प्रजातन्त्र पुनः स्थापनापछि त्रिभुवन राजपथ बन्यो, ठूला ठूला सवारी साधनहरू भित्रिए, त्यो सुरुङ सानो भयो । त्यसक्रममा सुरुङमार्गको छेउमा विष्फोट गराएर भत्काइयो र त्यहीं सडक बनाइयो, सुरुङको आधा भाग नष्ट भयो” पौडेलले भने ।
“यो स्थान इञ्जिनियरीङको विद्यार्थीको लागि महत्वपूर्ण सावित हुनसक्छ” पौडेलले भने । हेटौंडा उपमहानगरको १५ नम्बर वडामा पर्ने यो स्थानमा उपमहानगरले सुरुङका डिजाइन गर्ने इञ्जिनियर डिल्लीजड्ड थापाको अर्धकदको शालिक समेत स्थापना गरिसकेको छ ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् १९१७ मा निर्माण गरिएको उक्त सुरुङको केही साता अघि मात्र जीर्णोद्धारको काम सम्पन्न गरिएको हो । २०७९ साल वैशाख १९ गते पुननिर्माणको लागि शिलान्यास गर्दा १९८ मिटर लम्बाइको सुरुङ मार्ग मर्मतको संझौता भएको थियो तर काम गर्दै जाँदा २२५ मिटर लम्बाइ भएकोले पनि समय लम्बिएको ओझाले बताए । समयसँगै लागत पनि बढेको उनले बताए । सुरुङको चौडाइ साढे २ मिटर र उचाइ ३ फिट हुने गरी पहिलेकै स्वरूपमा पुनः निर्माण गरिएको छ । हाल सुरुङ मार्ग भित्र विद्युतीय लाइट जडान गरिएको छ भने सुरुङ मार्गको दुईतर्फको प्रवेश द्वारमा सजावटको काम गरिएको छ । तत्कालिन समयमा एक दशकभन्दा बढी सो सुरुङ मार्ग हुँदै साना हलुका सवारी साधनहरू आवतजावत गरेका थिए । पथलैया–हेटौँडा सडक निर्माण भएपछि भने यो सुरुङ सञ्चालनमा आउन छाड्यो ।

