मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा मच्छिन्द्र युथ क्लब सेमिफाइनल प्रवेश गरेकाे छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले हराउँदै मच्छिन्द्रले सेमिफाइनल यात्रा तय गरेकाे हाे ।
छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबारकाे तेस्रो क्वार्टरफाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ द म्याच मच्छिन्द्रका प्रदिप भण्डारी घोषित भए । मच्छिन्द्रले फाइनल प्रवेशका लागि न्यू रोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्नेछ । जावलाखेल बागमती गोल्डकपको तेस्रो संस्करणको विजेता हो भने मच्छिन्द्र दोस्रो संस्करणको उपविजेतासमेत हो । आइतबार प्रतियोगिता अन्तर्गत अन्तिम क्वार्टरफाइनल खेल आयोजक बागमती खेलकुद विकास समिति र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
बागमती गाउँपालिका–८ फापरवारी स्थित जनता माविको मैदानमा भएको प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । पाँचौं संस्करणको उपाधीको विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिकाले भने यो प्रतियोगितामा सहभागिता जनाएको छैन ।

