मकवानपुर । अहिले भाषाविद्हरुको चिन्ताको सवाल त भाषा भासिदै गयो, भाषामाथिको अत्याचार र शब्दमाथिको भ्रष्टाचारले शब्द अर्थ र भाषा नै भासिदै गयो । हुन पनि हो अहिले विद्यालयहरु, विश्वविद्यायहरु, सरकारी कामकाजमा समेत भाषाको अर्थ ‘बुझे भैगो नि’ भन्नेमा तहमा पुगेको छ । लेखाइमा सही होस वा नहोस् भाषा अर्थात सञ्चारको काम भाषाले गर्ने हो भन्ने सम्मको अर्थ लगाउन थालिएको छ ।
शब्द र भाषाको जथाभावि प्रयोग गर्दा यसको मर्म मर्नेक्रम जारी छ । भाषा भन्नु त इतिहास हो, भाषा भन्नु त सँस्कृति हो, भाषा भन्नु त मानवीय उद्विकासको विन्दु हो । मानवीय इतिहास मेटेर मान्छे रहन्छ कहाँ ? कसरी ? मानवीय संस्कार/सही सञ्चार कसरी जोगाउने होला ?
गुरु डा. चिन्तामणिनाथ योगी भन्छन् “भाषामा भाव हुन्छ, भावमा भक्ति हुन्छ र यही भक्तिमा मातृभक्ति, पितृभक्ति, गुरुभक्ति, राष्ट्रभक्ति सहित ईश्वरीय भक्ति समाहित भएको हुन्छ, तर दुर्भाग्य । आज मानिस भाषामै पनि अल्मलिएका छन्, अशुद्ध भएका छन्, अस्पष्ट भएका छन् ।”
विदेशीहरूको एकमात्र प्रयास भाषा, संस्कृति, संस्कार, सनातन परम्परालाई कुनै पनि हालतमा मारिदिने, मासिदिने प्रयास भाषमाथिको दोहनले समर्थन गरेको बताउँछन् योगी । “समाजलाई अन्योलमा, अन्धकारमा बाँच्नलाई विवश बनाइदिने उनीहरुको प्रयास विस्तारै सफल हुँदैछ” चिन्तामणिनाथ योगी भन्छन् ।
उनी भन्छन् “नेपाली भाषा, सनातनकालीन जुन हाम्रो भाषा हो, भावधारा हो, चिन्तनधारा हो त्यो विश्वकै लागि वास्तवमा प्रेरणा हो, विश्वजागरणका लागि, विश्वविकासका लागि र विश्वकल्याणका लागि वेदमा दिइएका चिन्तनहरू हिन्दुहरूका लागि मात्र हुन् र ? वैदिकहरूका लागि वा पुर्वेली समाजका लागि मात्र हुन् र ? मूलतः हाम्रा वेदहरूमा, उपनिषद्हरूमा दिइएका ज्ञान मानव जातिको समुन्नतिका लागि हुन्।” भाषाको सवालमा हामी कुहिरोमा हराएको काग जस्तै भएको टिप्पणी गर्छन उनी ।
भाषाको नाश हुदै गएको, भाषामाथि संरक्षणको लागि चासो र चिन्ता प्रकट हुँदै गरेको बेला मकवानपुरका उदिम पन्तले भाषाको जगेर्नाको लागि प्रयास स्वरुप प्रारम्भिक संस्कृत व्याकरण बजारमा ल्याएका छन् । १०२ पृष्ठको प्रारम्भिक संस्कृत व्याकरणमा सस्कृत नेपाली र अंग्रेजीमा मसिनो गरी उदाहरणसमेत स्पष्ट लेखिएको छ ।
लक्ष्यका साथ प्रारम्भिक संस्कृत व्याकरण बजारमा ल्याएका छन् । लघु आकारको यो पुस्तकले नेपाली भाषामा भने बलियो जग बनाउने अपेक्षा गरीएको छ । गुरु योगीले त यो पुस्तकलाई “लघु भए तापनि एटम बम जस्तै हो” भनेर टिप्पणी गरेका छन् । भाषामाथिको चरम शोषणलाई रोक्नको लागि यस्ता साना साना प्रयास पनि जरुत हुन्छन् । समस्या समयमा नै पत्ता लगाएर निराकण गर्न सकियो भने यसले ठुलो विनाशलाई रोक्न सक्छ । भयानक दुर्घटना रोक्न साना साना प्रयास पनि फलदायि भए जस्तै ।
मुलतः यो किताब व्याकरणका हिसाबले शुद्धाशुद्धीमा सुधार ल्याउने अपेक्षा सहित प्रकाशित गरिएको हो । लेखकले पनि भाषाका हिसाबले प्रारम्भिक कुरा नै पुस्तकमा समेटेका छन् ।
अधिकांश सरकारी कार्यालयहरुले युनिकोडको प्रयोग गर्ने प्रचालन बढेपछि नेपाली भाषा झनै टुक्रिदै गएको छ । डिजिटल टेक्नोलोजीले नेपाली भाषाको गुणस्तर घटाउँदो छ । भाषाको अज्ञान र लापरवाहीका बढेको छ । यसलाई रोक्न राज्यले पनि ध्यान दिएकै छैन । भाषाप्रति उदासीन रहदा रहँदै भाषाको अतिक्रमण बढ्दो छ यो परिपेच्छेमा पन्तको यो किताब झनै महत्वपूर्ण छ ।
अंग्रेजी भाषामा दख्खल भएका र शुद्ध नेपाली भाषामा समस्या भएकाहरुलाई पनि यो पुस्तक आधारस्तम्भ बन्न सक्छ । संस्कृतको पनि प्रारम्भिक ज्ञान होस् भन्नका लागि केही संस्कृत शब्दहरूको नेपाली र अंग्रेजी अनुवाद समेत गरेका छन् लेखक पन्तले । प्रारम्भिक संस्कृत र संस्कृतिको, हाम्रो सनातन परम्पराको ज्ञानका लागि पनि यो प्रभावकारी पुस्तक हुनेछ ।
लेखक पन्तले सरल शब्दमा भाषा के हो ? भाषा विज्ञान के हो ? व्याकरण के हो ? भन्ने कुरालाई बुझाउने प्रयास गरेका छन् । संस्कृतको, संस्कृत व्याकरणको, नेपालीभाषाको जगलाई चिनाइदिने प्रयास गरेका छन् । भाषिक शुद्धता नहुँदा हाम्रो बोलाइ र लेखाइले नै स्पष्टता नपाउने, भावनाले पवित्रता गुमाउने तिर पनि उनले ध्यानाकर्षण गरिदिएका छन् । यो पुस्तकमा भाषासम्बन्धी, संस्कृत सम्बन्धी, नेपाली शिक्षाको जग सम्बन्धी, व्यारणको प्रारम्भिक परिचयदेखि गहन विषयसमेत उल्लेख छन् ।
पुस्तकको टिप्पणी गर्दै योगीले भनेका छन् “कता कता लाग्छ, लेखक आत्तिएका छन्, छट्पटिएका छन् । आफ्ना पाठकलाई, विद्यार्थीहरूलाई धेरै कुरा ह्वात्तै पस्किन चाहन्छन् ।”
भाषाको माया
संस्कृत र नैतिक शिक्षा कुनै समय अनिवार्य थियो । सामुदायिक विद्यालयहरुमा लागु भइरहेको यो विषय नेपालमा २०५८ सालदेखि आवासीय र सरकारी विद्यालयहरूबाट संस्कृत भाषा पढाउन छाडियो । यसले गर्दा हस्व–दीर्घ, पुलिङ्ग–स्त्रीलिङ्ग, एकवचन बहुवचनबारे विद्यार्थीवर्ग वञ्चित रहे । यसपछि विस्तारै भाषा विग्रने क्रम सुरु भयो ।
यो क्रमसँगै विद्यार्थीमात्रै हैन शिक्षकहरुले पनि भाषाको प्रयोगप्रति गाम्भीर्यता कम गर्दै गए । यसैको चिन्ताले पिरोल्न थाल्यो पन्तलाई । मुलतःभारोपेली भाषाको स्रोत संस्कृत नै हो । देवनागरी लिपि भएका भाषामा संस्कृत, नेपाली, हिन्दी, ल्याटिन, अंग्रेजी र नेपाली भाषाका माध्यमले सरल तरिकाले बुझ्न सकून् भन्ने आशाका साथ उनले किताब लेख्न सुरु गरे । अन्ततः प्रारम्भिक संस्कृत व्याकरणको जन्म भयो ।
को हुन् लेख पन्त ?
लेखक उदिम पन्तले डिगबोइ आसामबाट प्रवेशिका (हालको एसईई उतिर्ण) गरेका हुन् । २०२५ सालदेखि २०३७ सालसम्म शिक्षण पेशामा थिए । २०३८ सालमा आइएससी फरेष्टीको लागि नेपाल सरकारको पुर्णकालिन छात्रवृत्ति प्राप्त गरेका उनी २०३८ मै वन प्राविधिक सेवा प्रवेश गरे । भाषालाई माया गर्ने स्वभावका उनी वन प्राविधिक सेवा २०६२ सम्म रहे । वन प्राविधिक (रेन्जर) पदमा रहदाँ पनि उनले अतिरीक्त सेवाको रुपमा भाषाकै क्षेत्रमा सक्रिय थिए,सकेको योगदान गरिरहे । रेन्जर सेवामा रहँदा उनी आइएससी र बीएससी फरेष्टरहरुलाई प्रयोगात्मक कक्षा गराउँथे ।
२०६२ बाट अनिवार्य अवकाश भएपछि निजि क्षेत्रका शैक्षिक संस्थामा संकृत व्यकरणको अलवा अंग्रेजी विषयसमेत पढाउँदै आएका छन् । पन्तसँग मुस्लिम धर्म सम्बन्धि समेत अध्यापनको अनुभव छ ।
उनी चाहन्छन् भाषामाथिको अतिक्रमण बन्द होस् । यो उनको कुनै स्वार्थले भरिएको चाहाना हैन, इच्छा हैन । अन्तमा फेरी पनिचिन्तामणिनाथ योगीको शब्द सापट लिएँ “कक्षाकोठाबाटै नेपाल बनाउने र विश्व बनाउने सपना देख्नसकौ, भाषिक शुद्धतामै जीवनको शुद्धता र सदाचार खोज्न सकौं, ससाना अक्षरमै अक्षर विज्ञान र दर्शन बुझ्न सकौ, सानो ठाउँ गाउँमा बस्दाबस्दै पनि अहं ब्रह्मास्मिको भाव भर्न सकौं । शिक्षक आफैंमा एक तपस्वी र ऋषि समान हो भन्ने बुझेर आफूले आफैलाई सम्मान गर्न सकौं सुधारको पहिलो पाइला मैले नै चाल्ने हो भन्ने बुझेर कर्मयोगी बन्न सकौं । लेखक पन्तलाई बधाई, स्वस्थ र दीर्घ जीवनको कामनासँगै सफलताको शुभकामना ।

