सौराहा (चितवन) । तथ्य तथ्याङ्कमा आधारित पत्रकारितामार्फत यसकाे विश्वासनियता वृद्धि हुने भएकाेले यसतर्फ चासाे दिन थालिएकाे छ ।
बागमती प्रदेश सरकार अन्तरगत रहेकाे सञ्चार रजिष्ट्रार कार्यालयले यसबारे पत्रकारहरुकाे क्षमता अभिवृद्धिकाे लागि पटकथा लेखन कार्याशाला तथा तथ्यांकमा आधारित ५ दिने तालिमकाे आयाेजना गरेकाे छ ।
प्रदेशकाे चितवन जिल्लाकाे साैराहामा आयाेजना गरिएकाे तालिममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले तथ्य तथ्याङ्कमा आधारित पत्रकारिता विश्वासकाे आधार भएकाे बताएका छन् । जवाफदेहि र जिम्मेवारिता बढाउन तथ्य तथ्याङ्कमा आधारित पत्रकारिता अनिवार्य भएकाे उनले बताए । तालिमको उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले ‘फास्टफूड पत्रकारिताको सट्टा डेटाबेस’ पत्रकारिता गर्न सुझाब दिए ।
‘नेताहरु उडन्ते भाषण गर्छन्, पत्रकार त्यसलाई निबन्ध बनाउने प्रवृत्ति बढेको छ, तथ्य तथ्याङ्कका आधारमा जवाफदेही र जिम्मेवार पत्रकारीता गर्नुहोस्’ उनले भने । मन्त्री श्रेष्ठले भाषा संस्कृति आर्थिक सामाजिक जीवनलाई समेटेर वृत्त चित्र निर्माण गर्न कार्यविधि नै बनाएर बागमती प्रदेश सरकार अघि बढेको बताए।
सिनेमा क्षेत्रमा दर्शकलाई जबर्जस्ति सिनेमा हेर भन्ने जस्तो अवस्था रहेको बताउँदै दर्शकको चाहनालाई सम्बाेधन गर्ने सिनेमाकाे खाँचाे भएकाे उनले बताए । बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा अघि सारेको बताउँदै मातृभाषालाई प्राथमिकता दिन आग्रह गरे ।
कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले प्रविधिको विकाससँगै आफूलाई रुपान्त्तरण गर्नु जरुरी रहेकाे बताए । पत्रकारकाे क्षमतामा विकास गराउँन मोबाइल, अनलाइन, डेटाबेस पत्रकारितामा कार्यालयले पहल बढाएकाे उनले बताए । ‘ब्रेनमा गरेको लगानी खेर जादैन’ उनले भने ।
तालिममा सहभागीहरुले सिनेमाकाे लागि पटकथा स्कृप्ट लेखनकाे अभ्यास गर्नेछन् । उत्कृष्ट पटकथालाई प्रोत्साहन स्वरुप एकलाख बीउ पुँजी प्रदान गरिने छ । तालिममा दुवै विधाका गरी बागमती प्रदेशका ४२ जना कृयाशिल पत्रकारहरु सहभागी छन् ।

