मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
छैठौंं संस्करणको अन्तर्गत शुक्रबारको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–१ गोलले पाखा लगाउदै एपीएफले सेमिफाइनलमा स्थान बनाएको हो । मकवानपुरको बागमती गाउँपालिका–८ फापरवारी स्थित जनता माविको मैदानमा भएको खेलमा एपीएफको तर्फबाट अनिष महर्जनले १ तथा फोडे फोफनाले १ गोल गरे ।
खेलको दोस्रो हाफको १६ औं मिनेटमा फोफनाले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै महर्जनले खेलको दोस्रो हाफको १६ औं मिनेटमा हेडमार्फत गोल गरे । उनले २४ औं मिनेटमा दोस्रो गोल गर्दै फाराकिलो अग्रता बनाए । खेलको दोस्रो हाफको ८८ औं मिनेटमा चर्च ब्वाइजका लागि विशाल बस्नेतले सान्त्वना गोल गरे ।
खेलको म्यान अफ द म्याच एपीएफ महर्जन घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । एपीएफले अब फाइनल प्रवेशका लागि आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
बागमती गोल्डकप अन्तरगत शनिबारको क्वाटरफाइनल खेलमा जावला खेल युथ क्बल र मछिन्द्र युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । पाँचौं संस्करणको उपाधीको विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिकाले भने यो प्रतियोगितामा सहभागिता जनाएको छैन ।

