काठमाडौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ ।
नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकता संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ ।
नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) बबरमहल काठमाडौँमा आगामी फागुन ५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने चित्रकला प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।
प्रदर्शनीमा ५० देशका चित्रकारले बनाएका १ सय ७० भन्दा बढी चित्रहरु राखिनेछन् । जसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत खोटाङ जिल्लाका समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र भल्किने आयोजकको विश्वास रहेको छ ।
गत असोज १७ देखि २१ गते १९ जना विदेशी र २४ जना स्वदेशी गरी ४३ जना चित्रकारको सहभागितामा जिल्लाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गराई स्थानीयस्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि १ सय ९ वटा जिवन्त चित्रहरु (लाइभ) समेत कोरिएको थियो ।
प्रदर्शनीको अवसरमा राई, नेवार, गुरुङ, क्षेत्री बाहुन लगायत जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने नगरप्रमुख भट्टराईले बताए । प्रदर्शनीको अवधिमा पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक नियोगका अधिकारी, उद्योगी–व्यवसायी, लेखक लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने उनले जानकारी दिए ।

