मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका ३ नम्बर वडामा बालबालिकासंग वडा अध्यक्ष कार्यक्रम गरिएको छ । वडा कार्यालयको सहयोग तथा वडा बाल संजालको ब्यबस्थापनमा सोमबार कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागी बालबालिकाले शिक्षा क्षेत्रको विकासका लागि गरिएको प्रयास र आगामी कार्ययोजना, सामुदायिक बिद्यालयमा बिद्यालय बसको ब्यबस्था गरिनुपर्ने, खेलकुद क्षेत्रमा गरिएको प्रयास र आगामी कार्ययोजना, बिद्यालय परिसरमा संदेशमूलक सूचना बोर्ड राख्नुपर्ने, बिद्यालय क्षेत्र वरिपरी जेब्रा क्रसिङ्गको ब्यबस्थापन गरिनु पर्ने, अन्तर बिद्यालय स्तरीय बिबिध क्रियाकलाप संचालन हुनुपर्ने, बाल उज्जवल माबिको खानेपानीको समस्या तत्काल समाधान गर्नु पर्ने, बिद्यालय नर्सको ब्यबस्थापन गरिनु पर्ने, आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीलाई छात्रवृत्तिको ब्यबस्थापन र बिद्यार्थी प्रोत्साहन कार्यक्रम, प्राबिधिक शिक्षामा जोड दिनु पर्ने, प्रत्येक बिद्यालयमा नि:शुल्क आँखा चेकजांच शिविर संचालन गरिनु पर्ने लगायत सवाल उठाएका थिए ।
जवाफमा वडा अध्यक्ष ढलक बहादुर थापाले चालु आर्थिक वर्षको बजेटले आर्थिक वर्षको अन्त्यसम्म सम्बोधन हुने र अन्य सकारात्मक सुझावहरुलाई आगामी बर्षको बजेटमा योजना तथा कार्यक्रम समाबेश गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । थापाले गत बर्ष र चालु आर्थिक बर्षमा बालबालिका तथा शिक्षा क्षेत्रमा भएको प्रगति विवरण तथा बजेट समेत जानकारी गराएका थिए।
नेपाल सरकारले सबै स्थानीय तहलाई २०८७ सालसम्म बालमैत्री शासन युक्त बनाउने लक्ष्य लिएको छ । हेटौडा उपमहानगरपालिकालाई २०८० साल भित्रै बालमैत्री स्थानीय शासन युक्त पालिका घोषणा गर्ने सोच बनाएर काम गर्दै आएको छ । बालमैत्री वडा घोषणाको लागि कार्यालयले संचालन गर्दै आइरहेको बिबिध बालमैत्री क्रियाकलाप अन्तर्गत बालबालिकासंग वडा अध्यक्ष कार्यक्रम संचालन गरिएको सचिव महेन्द्र चापागाईंले बताए ।
वडा बाल संजाल अध्यक्ष सक्षम चौलागाईको अध्यक्षता तथा वडा अध्यक्ष ढलक बहादुर थापाको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा बालमैत्री सम्पर्क व्यक्ति सबिना बिडारी, वडा सदस्यहरु देवकी बिक र हर्क बहादुर पाख्रिन, बाल उज्जवल मावि प्रअ शम्भु प्रसाद बर्तौला, महेन्द्र किरण मावि प्रअ तारा गौतम, वडा शिक्षा समिति सदस्य टेकनाथ शिवाकोटी, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष रोशन गोले, वडाका सामुदायिक र संस्थागत बिद्यालयका बालमैत्री सम्पर्क शिक्षक तथा बाल समुहका पदाधिकारी, वडा बाल संजालका पदाधिकारी, वडा कार्यालयका कर्मचारी लगायतकाको उपस्थिति रहेको थियो ।

