मकवानपुर । मकवानपुरको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं.२ गोलढुंङगा भर्याङडाडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.६ चौघडा बस्ने ४५ बर्षीय राजेन्द्र पिठाकोटी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार हेटौंडा–फाखेल–काठमाडौ सडकखण्ड अन्तर्गत काठमाडौंबाट हेटौंडातर्फ आउदै गरेको बा ९० प ३६०४ नम्बरको मोटरसाइकल सोमबार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।
सुरक्षाकर्मीको टोलीले मोेटरसाइकल चालक पिठाकोटीलाई घाइते अबस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पतालमा ल्याईएकोमा चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नं.१० रानीमहल अगाडी ई–रिक्सा(मयुरी)मा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक हेटौंडा ९ एचआइडी बस्ने १९ बर्षीय प्रशान्त कुमार ठाकुर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्रा पुलबाट फरेष्टीतर्फ आउँदै गरेको ना १ ह ३१२७ नम्बरको ई–रिक्सा दाहिने तर्फ मोडने क्रममा सोही दिशातर्फबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ६२०५ नम्बरको स्कुटर ई–रिक्साको पछाडी ठोकिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा स्कुटर चालक ठाकुर घाईते भई उपचारका लागि नँया मेडिकल कलेजमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

