मकवानपुर । आजबाट छैठौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको हुदैछ । मकवानपुरकाे बागमती गाउँपालिका फापरबारी स्थित जनता माविको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा मोफसलको बागमती युथ क्लब सर्लाही र ए डिभिजनको मच्छिन्द्र फुटबल क्लब काठमाडौ भिड्ने भएका छन् ।
बागमती गाँउपालिकाकाे सहयोगमा खेलकुद विकास समिति बागमतीले प्रतियोगिताको आयोजना गर्नेछ । प्रतियाेगिताकाे सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिए ।
जावलाखेल युथ क्लव ललितपुर, बागमती युथ क्लब सर्लाही, मच्छिन्द्र फुटबल क्लब काठमाडौं, नव जन जागृती क्लव सिमरा बारा, एनआरटी फुटबल क्लव काठमाडौँ समुह “क” मा रहेका छन् । यस्तै नेपाल आर्मीकाे त्रिभुवन क्लब काठमाडाैं, हिमालयन शेर्पा क्लब काठमाडाैं, आयोजक बागमती खेलकुद विकास समिति, शसस्त्र प्रहरीकाे एपिएफ फुटबल क्लब काठमाडाैं, चर्च ब्वाईज युनाईटेड क्लव काठमाडौं समुह “ख” मा छन् ।
आज फागुन १ गतेबाट १० दिनसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैंया हात प्राप्त गर्नेछ भने उपविजेताले नगद ५ लाख रुपैंया प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब ६९ लाख ६० हजार खर्च हुने अनुमान गरिएको छ । बागमती गाउँपालिकाले ३० लाख र प्रदेश खेलकुद परिषदबाट १५ लाख, राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख प्राप्त हुने तथा अन्य खर्च प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरूबाट प्राप्त हुने अनुमान आयोजकले गरेकाे छ ।
बागमती गोल्डकपको पहिलाे संस्करणकाे उपाधि हरिहरपुरगढी सिन्धुलीले हात पारेकाे थियाे । दोस्रो संस्करणकाे उपाधि सरस्वती युवा क्लब काठमाडौंले जितेकाे थियो भने तेस्रो गोल्डकपको उपाधि जावलाखेल युवा क्लब ललितपुरले प्राप्त गरेको थियो । प्रतियोगिताको चौथो संस्करण उपाधि थ्री स्टार क्लबले हात पार्दा पाचौं संस्करणको उपाधीकाे विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिका भएकाे थियो । यस संस्करणमा भने उक्त क्लबले सहभागिता जनाएको छैन ।

