मकवानपुर । मानव वेचविखन तथा ओसारपसार बिरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति २०८० को प्रचार तथा आगामी कार्यदिशा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आज हेटौंडामा भएको छ ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखाका प्रमुख गोपालप्रसाद कँडेल र महिला विकास अधिकृत चन्द्रकुमारी ब्यञ्जनकार, महिला, कानून र विकास मञ्चका निर्देशक अधिवक्ता सबिन श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम अष्ट्रेलियन एड, द एसिया फाउण्डेशन र महिला, कानून र विकास मञ्चसँगको सहकार्यमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको हो ।
कार्यपत्रमा मानव वेचविखन तथा ओसारपसार बिरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति २०८० को प्रकृया, तर्जुमाको पृष्ठभुमी, विद्यमान समस्या, कार्यान्वयनको अबस्था, चुनौतीहरु, अवसरहरु, नीतिगत निर्देशक सिद्धान्त, नीतिको उदेश्यहरु, कार्यनीतिहरु, विषयगत क्षेत्रमा सदस्यहरू, संरक्षण उपसमितिले गरेका क्रियाकलापहरु, हालसम्मको प्रगतिहरु, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानूनी व्यबस्थाहरु लगायत रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामालगायतको उपस्थिति रहेकाे थियो । सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखाका प्रमुख गोपालप्रसाद कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश बाल अधिकार समितिका सदस्य प्रकाश खतिवडा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशकी अध्यक्ष आरती पाठकलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
‘मानव वेचविखन तथा ओसारपसार मुक्त परिवेश, सचेत, सुरक्षित र सम्बृद्ध बागमती प्रदेश’ भन्ने नारासाथ आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित विभिन्न मन्त्रालय, सुरक्षा निकाय, सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको महिला, कानून र विकास मञ्चकाे मकवानपुर जिल्ला कार्यक्रम संयाेजक अधिवक्ता ललिता श्रेष्ठले बताइन् ।
मकवानपुर जिल्लामा सक्रिय गैरसरकारी संस्थाहरु सेलर्ड प्लान नेपाल शान्ति फाउण्डेशन लगायतकाे सयुक्त पहलमा मानव वेचविखन तथा ओसारपसार बिरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति २०८० तयार पारिएकाे थियाे । जसलाई प्रदेश सरकारले पास गरी अब कार्यन्वयनकाे चरणमा रहेकाे छ ।

