मकवानपुर । मकवानपुरको हेटौंडामा ‘स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । हेटौंडा–६ स्थित गौरीटार रङ्गशालामा सुरु भएको छैठौँ संस्करणको गोल्डकपकाे उद्घाटन खेलमा बागमती युवा क्लब सर्लाहीले विजयी सुरुवात गरेका छ ।
बागमतीले भुटानको पारो फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । खेलको चौथो मिनेटमा बागमतीका राज भुसालले गोल गर्दै अग्रता लिएको थियो । पहिलो हाफको २८ औँ मिनेटमा सिजन गौतमले बागमतीकाे लागि अर्काे गोल गरेका थिए । बागमतीको लागि भुसालले दोश्रो हाफको ६० औँ मिनेटमा दोश्रो गोल गरे । यसैगरी पारोका लागि खेलको ८१ औँ मिनेटमा सिरुप दोर्जेले सान्त्वना गोल गरे ।
जितसंगै बागमती क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पराजित पारो प्रतियोगिताबाट बाहिरिएको छ । खेलको म्यान अफ द म्याज बागमतीका लागि राज भुसाल घोषित भए । उनले नगद १० हजार र ट्रफि हात पारे ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउने छन् ।
प्रतियोगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको छ । जिल्ला फुटबल संघ मकवानपुरका अनुसार प्रतियोगितामा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लब सहभागी रहेकाे छ । यसैगरी प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी भएकाे छ । आयोजककाे तर्फबाट रिगल हेटौंडा रिसोर्टले सहभागी जनाएकाे छ । प्रतियोगिताको फाइनल खेल माघ २७ हुनेछ ।
यस अघि विभिन्न प्रायोजकहरुको नाम राखेर सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि २०७७ सालबाट जिल्लाका १० वटा स्थानीय तहबाट सहयोग प्राप्त भए पछि मकवानपुर फुटबल संघले ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ नामाकरण गरी प्रतियोगिता सञ्चालन गर्दै आएकाे हाे । जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा फुटबल संघले शहीद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ । २०६/०६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो ।
प्रतियाेगिताकाे पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले हात पारेकाे थियो । २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो । प्रतियोगिताको पाँचौं संस्करणकाे उपाधी सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेकाे थियो । फाइनलमा हिमालयन शेर्पालाई पराजित गर्दै एपीएफले उपाधि जितेको हो । प्रतियोगिताको पाचौं संस्करण हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आयोजना गरिएको थियो ।

