मकवानपुर । मकवानपुरको हेटौंडामा जारी छैठौं संस्करणको शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले विजयी सुरुवात गरेको छ।
बुधबार भएको खेलमा हिमालयन शेर्पालाई ३-० गोल अन्तरले हराउँदै एनआरटीले दोस्रो चरणमा स्थान पक्का गरेको हो। हिमालयन शेर्पा गत संस्करणमा उपविजेता भएको क्लब हो । एनआरटीको जीतमा सरोज तामाङ, रोहन खड्गी र सुमित श्रेष्ठले १-१ गोल गरे।
खेलको म्यान अफ द म्याच एनआरटीका सरोज तामाङ घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा विहीबार सशस्त्र प्रहरीको एपीएफ र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ।
मंगलबारको उद्घाटन खेलमा बागमती युवा क्लब सर्लाहीले भुटानको पारो फुटबल क्लबलाई ३–१ गोलले पराजित गर्दै दोस्रो चरणमा प्रबेश गरेको थियो । जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको आयोजक जनाएको छ ।

