चितवन । तनहुँ जिल्लाकाे देवघाटधाममा `मकर-काव्य-यामिनी´शृङ्खलाकाे कार्यक्रम हुने भएको छ । पवित्र धार्मिकस्थल,आध्यात्मिक क्षेत्र देवघाटधाममा अवस्थित ‘महेश-संस्कृत-गुरुकुलम्’को आयोजनामा पुस २९ गते आइतबार `मकर-काव्य-यामिनी´को २१ औँ शृङ्खला हुने भएको हाे ।
२०६० सालबाट निरन्तर सञ्चालन भइरहेको मकर-काव्य-यामिनी राष्ट्रियस्तरको काव्यिक महोत्सव हो । विभिन्न राष्ट्रियस्तरका कवि, साहित्यकार तथा विशिष्ट विद्वान्हरूको उपस्थिति रहँदै आएको कार्यक्रम पौष महिनाको अन्तिम साँझबाट माघ महिना पहिलो बिहानसम्म सञ्चालन हुने गरेको । मकर संक्रान्तिको पूर्व सन्ध्यामा सञ्चालन हुने भएकाले यस कार्यक्रमको नाम मकर-काव्य-यामिनी राखिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा विशिष्ट स्रष्टा एवं सम्पूर्ण काव्यप्रेमी साहित्यानुरागी दर्शक श्रोतालाई समेत निमन्त्रणा गरिएको छ ।
“देवघाट महाकाव्य ” “म र मेरा” र “महापुरुष” का स्रष्टा निराजन पन्त, छन्दकवि सुदेश सत्याल, कवि नगाधिराज लगायतका कवि तथा गजलकार स्रष्टा मकर काव्य यामिनीका उत्पादन भएकाे आयोजकले जनाएकाे छ । माघ १ गते देवघाटमा माघेसङ्क्रान्ति मेलामा तीर्थस्नान गर्नुपूर्व अघिल्लो रात काव्यपान गर्न पाउनुलाई सुवअवसरका रुपमा लिने गरिएको छ । देवघाट धार्मिक, आध्यात्मिक र शैक्षिक क्षेत्रका साथसाथै साहित्यिक क्षेत्रको उर्वर भूमिकाे रूपमा परिचित गराउन मकर-काव्य-यामिनी सफल भएको बताइन्छ ।
भवगाम्भीर्यले पूर्ण अलङ्कारसुवासिनी।
रसमाधुर्य बोकेर आउँछिन् काव्य-यामिनी ।।

