मकवानपुर । मकवानपुरकाे हटियमा रहेकाे अंगारेश्वर मन्दिर क्षेत्र समेटिएर अंगारेश्वर धार्मिक तथा पर्यटन स्थल दर्ता गरिएकाे छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १७ (साविक हटिया गाविस ३) मा रहेकाे अंगारेश्वर मन्दिर ३ सय वर्ष भन्दा बढी इतिहास भएकाे धार्मिक क्षेत्र भएकाेले संरक्षणकाे लागि दर्ता गरिएकाे हाे ।
विहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विधिवत दर्ता भएकाे अंगारेश्वर धार्मिक तथा पर्यटन स्थलकाे अध्यक्षमा कृष्णदेव भण्डारी,
उपाध्यक्ष श्याम बहादुर घर्ती, सचिव सन्दिप थापा, कोषाध्यक्ष सेती कुमारी गोङ्बा, सहसचिव शारदा अधिकारी छन् । यस्तै सदस्यहरू प्रदिप कुमार विष्ट बिना दाहाल, मैया कठायत, थिर बहादुर बजू, नवराज माझी र ओमप्रसाद अधिकारी रहेका छन् ।
संस्थाको उद्देश्य अनुसार सनातन हिन्दू धर्मको महत्त्व भक्तजन तथा अनुयायीहरूलाई बुझाउंदै प्रचारप्रसार र विकासमा लागि पर्ने अध्यक्ष भण्डारीले बताए । धार्मिक अनुष्ठान र नियमित पुजापाठलाई कर्मकाण्डी भन्दा पनि धर्मको मर्मअनुसार अवचेतन मनको प्रयोग गर्दै व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्य तथा मनको शान्तिको लागि आयोजना गर्नुपर्ने विषयलाई व्यबहारमा उतार्ने र अनुयायीहरूको लागि सचेतना कार्यक्रम अभियानको रूपमा संचालन गर्ने उनले जानकारी दिए ।
३०० वर्षभन्दा पुरानो इतिहास भएको “अंगारेश्वर धार्मिक तथा पर्यटन स्थल” दर्ता गर्न सहयोग पुर्याउने हटिया, हर्नामाडीका सम्पूर्ण भक्तजनहरू, सल्लाहकारहरू, पूर्व अध्यक्षज्यूहरू, कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरूलाई अध्यक्ष भण्डारीले धन्यवाद समेत ज्ञापन गरेका छन् ।
हेटौडा उपमहानगरपालिकाकाे पूर्वीमा रहेकाे हर्नामाडी र हटिया क्षेत्रका अंगारेश्वर मन्दिर वरपर राजदेवी, चन्दनदेवी गुफाथान, गाेरक्षेश्वर,सेतीदेवी, कमलादेवी, कालेदेवी, सिद्धेश्वर, जुरेथुम गुम्बाडाँडालगायतका धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकाेले धार्मिक पर्यटन तथा पर्या पर्यटनमा समेत टेवा पुग्ने बताइएकाे छ ।

