मकवानपुर । हेटौंडा भएकाे छैठौं संस्करणको उपमेयर नगरकप भलिबल प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको आयोजना, मकवानपुर जिल्ला खेलकुद विकास समितिको सहकार्य तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा–१९ नेवारपानीमा प्रतियोगिता जारी छ ।
प्रतियाेगितामा शुक्रबार पुरुषतर्फ क्वाटर फाइनलका खेल भए । यस्तै महिला तर्फ पहिलाे सेमिफानलकाे खेल भएकाे छ । शुक्रबार भएको पुरुष भलिवलकाे क्वार्टरफाइनल खेलबाट वडा नम्बर १७, ५, १९ र ११ सेमिफाइनल प्रवेश गरेका हुन् । शुक्रबारकाे खेलमा वडा नम्बर १७ ले वडा नम्बर १० लाई २५–१६ र २५–२० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेकाे हो ।
यस्तै ६ नम्बर वडा र ५ नम्बर वडावीच भएकाे खेलबाट ५ नम्बर सेमिफाइनल प्रवेश गरेकाे हाे ।५ नम्बर वडा २०–२५, २५–२३ र १५–१० को सेटमा विजयी भएको हो । शुक्रबारै भएको खेलमा १९ नम्बरले १२ लाई हराउँदै सेमिफाइनल प्रवेश गर्यो । १९ ले १२ लाई २५–१८, १८–२५ र १५–१० को सेटमा पराजित गरेको हो । अन्तिम क्वार्टरफाइनल खेलमा ११ ले १६ लाई सोझो सेटमा हरायो । ११ नम्बर वडा २५–१२ र २५–११ को सेटमा विजयी भएको हो ।
जारी प्रतियोगितामा महिलातर्फ भने ९ नम्बर वडा फाइनल प्रवेश गरेको छ । शुक्रबार भएकाे महिलातर्फको पहिलो सेमिफाइनलमा वडा नम्बर ९ ले १४ लाई हराउँदै फाइनलमा स्थान बनाएकाे हाे । ९ ले १४ लाई २२–२५, २५–२३, २५–११, २५–१९ को सेटमा पराजित गर्दै उपाधी भिडन्त पक्का गरेकाे हाे । महिला तर्फ वडा नम्बर १७ र १२ बीच भएकाे दाेस्राे सेमिफाइनल रात परेको कारण स्थगित गरिएकाे आयाेजकले जनाएकाे छ । खेल जारी रहँदा रातपरेपछि शनिबार बिहान पुन खेल हुने भएकाे हाे ।
प्रतियोगितामा पुरुषतर्फ १२ वटा वडाले सहभागिता जनाएका छन् भने महिलातर्फ ७ वटा वडाले सहभागिता जनाएकाे संयोजक पुष्प मैनालीले जानकारी दिए । उनका अनुसार पुरुष भलिवल तर्फ वडा नं ३, ४, ५, ६, ९, १०, ११, १२, १३, १६, १७ र १९ ले सहभागिता जनाएका छन् भने महिला भलिवल तर्फ ६, ९, १०, १२, १४, १७ र १९ वडाले मात्र सहभागिता जनाएका छन् ।
प्रतियोगितामा प्रथम हुने वडाले ५० हजार, द्वितीय हुनेले ३० हजार र सान्त्वना हुनेले १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । मंसिर १४ गतेदेखि सुरु प्रतियाेगिताकाे फाइनल खेलहरु १७ गते खेलाइने छ ।
गत वर्ष भएको पाँचौ सस्करणको उपमेयर कपको उपाधि महिलातर्फ १९ नम्बर वडा र पुरुषतर्फ ११ नम्बर वडाले हात पारेकाे थियो ।


