मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सिताराम रिजालले समाज परिवर्तनमा प्रहरी मात्रको एकल प्रयासले सम्भव नहुने तथा यसकाे लागि नागरिकको सहभागीता अपरिहार्य रहेकाे बताएका छन् । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारीता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
अन्तरक्रियामा एसपी रिजालले समाज परिवर्तनमा सामुदायिक सेवा केन्द्रको भूमिकाकाे प्रशंसा समेत गरे । अन्तरक्रियामा उठेका जिज्ञासाहरूको प्रहरी प्रमुखले सम्बोधन गरेका थिए । कार्यक्रममा काठमाडौ –२८ पुरानो बसपार्कका अध्यक्ष एवम् कार्यक्रमका विशिष्ट अतिथि कमरूदिन मियाले हाल केन्द्रले गरेको गतिविधि बारेमा जानकारी गराउनुका साथै सामुदायिक सेवा केन्द्र मकवानपुरलाई काठमाडौ भ्रमणको लागि आमन्त्रण समेत गरे ।
केन्द्रका अध्यक्ष तथा सामुदाय प्रहरी साझेदारीका जिल्ला सदस्य राम बिष्टले केन्द्रको स्थापनादेखि हाल सम्मको महत्वपूर्ण कार्यहरुको चर्चा गरेका थिए । सामुदायिक सेवा केन्द्रको वर्तमान अवस्थामा आइपरेका चुनौती समेत उनले प्रस्तुत गरेका थिए । काठमाडौ महानगरपालिकाको आर्थिक सहयोगमा धार्मिक भ्रमण तथा सामुदायिक अवलोकन गर्नको लागि आउनुभएका १३० जनालाई स्वागत गर्नुका साथै पुरानो बस पार्क सामुदायिक पदाधिकारी,कार्यसमिति सदस्य,पुर्व अध्यक्ष,जेष्ठ नागरिकहरूलाई स्वागत तथा सम्मान गरिएकाे थियो ।
केन्द्रका अध्यक्ष तथा सामुदाय प्रहरी साझेदारीका जिल्ला सदस्य राम बिष्टको सभाअध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख तथा समुदाय प्रहरी साझेदारीका जिल्ला सह– संयोजक प्रहरी उपरीक्षक सिताराम रिजालको प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी ,ईलाका प्रहरी कार्यालय पशुपतिनगरका निमित्त प्रमुख सुन्दर कार्की, केन्द्रका पदाधिकारी, कार्यसमिति सदस्य, पुर्व अध्यक्ष, स्वयसेविका, जेष्ठ नागरिकलगायतको उपस्थिति थियो ।

