मकवानपुर । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन तालिका सार्वजनिक गरेकाे छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हुन् ।
राष्ट्रियसभाका एक तिहाइ अर्थात १९ सदस्य चयनका लागि आगामी माघ ११ मा निर्वाचनकाे मिति सरकारले तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरी सार्वजनिक गरेकाे हाे । प्रवक्ता पौडेलका अनुसार मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन गरिनेछ । सूचना अनुसार राजनीतिक दलहरुले मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता गर्नुपर्नेछ ।
‘दल दर्ता भएपश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइनेछ,’ निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वीकृत कार्यतालिका अनुसार २०८०/०९/१६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ ।’
यस्तै आयोगका अनुसार पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानको कार्य सञ्चालन गर्ने आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।उम्मेदवारी दर्ताको समय तोकिएको छैन । तर अहिलेसम्म आयोगको तयारी २० पुसमा उम्मेदवारी दर्ता गर्ने छ । सम्भवतः आइतबार यसबारे निर्णय हुने आयाेगका प्रवक्ता शालिकराम शर्मा पौड्यालले जानकारी दिए ।

