मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले सोमबारबाट व्यवसाय दर्ता शिविर सुरु गरेकाे छ । उपमहानगरपालिकाले आन्तरिक आय वृद्धि गर्न करको दायरा बाहिर रहेर व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुलाई लक्षित गरी शिविर सुरु गरेकेा हाे ।
हेटाैडा उपमहानगरपालिकाकाे १९ नम्बर वडा कार्यालयबाट व्यवसाय दर्ता शिविरको सुरुवात गरिएको छ । उपमहानगरका ३, ४, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १५, १६, १७, १८ र १९ वडाहरूमा शिविर संचालन हुने राजश्व शाखा प्रमुख श्यामकुमार श्रेष्ठले बताए । १९ नम्बर वडामा व्यवसाय दर्ता शिविर ३ दिनसम्म चल्ने छ । पुस मसन्तसम्म सञ्चालन हुने व्यवसाय दर्ता शिविरमा व्यवसायी, उद्यमी, संस्थागत विद्यालय, निजी कम्पनी, व्यापार–व्यवसायलगायतका व्यवसाय दर्ता गर्न समेत उपमानगरपालिकाले आग्रह गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपालेले राजस्व परामर्श समितिले अनुगमका क्रममा वडाहरुका दर्ता बिना नै व्यवसाय संचालन गरी राजस्वको दायरा बाहिर रहेको पाएपछि शिविर संचालन गरेको बताए । शिविर संचालन भएसँगै व्यवसायीहरुले घरेलु तथा साना उद्योगमा दर्ता गरी संचालनमा व्यवसायलाई दर्ताको समय जति रहेकाे भएपनि पछिल्लो तीन वर्षको शुल्क तिरेर उपमहानगरमा व्यवसाय दर्ता गर्न पाउँनेछन् ।
सोमबार १९ नम्बर वडामा नगरप्रमुख मीना कुमारी लामाले व्यवसाय दर्ता गर्ने व्यवसायीलाई प्रमाणपत्र वितरण गरेर शिविरकाे शुभारम्भ गरेकी छिन् । शिविरको पहिलो दिन आज ६ जना व्यवसायीलाई दर्ता प्रमाणपत्र हस्तान्तरण गरिएको छ भने १५ वटा व्यवसाय दर्ताको प्रकृयामा रहेको वडा अध्यक्ष नरनाथ सुवेदीले बताए ।
उपनगरपालिकामा हालसम्म १३ हजार ३ सय ९२ वटा व्यवसाय दर्ता भएका छन् । उपमहानगरपालिकाकाे गत वर्षकाे तथ्याङ्क अनुसार ३ हजार ६ सय ८५ वटा व्यवसाय पालिकामा दर्ता नगरी संचालनमा आएको पाइएको थियाे । राजश्व शाखा प्रमुख श्रेष्ठले शिविरमा ५० देखि ७५ प्रतिशत व्यवसायीलाई दर्ताकाे दायरामा ल्याइने बताए ।
व्यवसाय दर्ता शिविर शुभारम्भमा वडा अध्यक्ष सुवेदी, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, राजश्व शाखाका प्रमुख श्यामकुमार श्रेष्ठ, वडा सचिव राजेन्द्रनाथ पाेखरेललगायतकाे उपस्थिति रहेको थियो ।

