मकवानपुर । बागमती प्रदेश सरकारका प्रबक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई राइस स्टीमर मेसिन प्रदान गरेका छन् ।
आज मन्त्री श्रेष्ठले गृह जिल्ला पुगेर जिल्ला कारागार, सिन्धुलीलाई ४ थान राइस स्टीमर मेसिन हस्तनातरण गरेका हुन् ।
कारागारमा रहेका १ हजार कैदीबन्दिलाई दाउरा बालेर खाना बनाउनको असहज तथा स्वास्थ्यमा समेत समस्या हुने गरेको गुनासो आएकोले गुनासोको सम्बोधन गर्दै मन्त्रि श्रेष्ठले खाना पकाउनको लागि राइस स्टीमर मेसिनको ब्यबस्था गरिदिएको जेलर कुसल न्यौपानेले बताए ।
केहि समय अगाडि जिल्ला कारागार सिन्धुलीको अनुगमनको क्रममा १ हजार जनाभन्दा धेरै कैदिबन्दीलाई खाना बनाएर खानको लागि समस्या भएको गुनासो आएको थ्यो ।
“दाउरामा बिहान बेलुका खाना बनाएर खानको लागि कैदीबन्दीले भोगेको समस्या मैले आफैले देखे, कैदिबन्दिको चाप देखेर अस्वभाविक महशुस गरे, अनि यस्तो व्यवस्थापन गरिएको हो” श्रेष्ठले भने ।
राइस स्टीमर नेपालमा भएका थुप्रै कारागार मध्य पहिलो पटक सिन्धुलीलाई उपलब्ध गराइएको हो । यो उपरकरण नेपालमा सेना तथा प्रहरीले मात्रै प्रयोग गर्ने गरेका थिए । सिन्धुलीमा प्रभावकारी भएमा अन्य जिल्लामा पनि प्रदान गर्न प्रयास गर्ने उनले बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कारागारलाई यसरी खाना पकाउन राइस स्टिमर प्रदान गरेको नेपालमा नै पहिलो पटक हुन सक्छ जेलर न्यौपानेले बताए। यसरी प्राप्त भएको उपकरणले कैदिबन्दीलाई खाना पकाउन सहज हुने र धुवाँबाट हुने स्वास्थ्य सम्बन्धि समस्य पनि हट्ने जेलर न्यौपानेले बताए ।
२४ ट्रे को २ थान र १२ ट्रे २ थान गरी चार थान राइस स्टीमर कारागारलाई प्रदान गरिएको हो । जसमा एक पटकमा २४ ट्रे मा ७५ किलो र १२ ट्रे मा ३५ किलो चामल पकाउन मिल्छ ।
स्टिमर हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिब ध्रुव गैँडा, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी प्रमुख राजकुमार सिलवाललगायतको उपस्थिति रहेको थियो ।

