मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले डेढ करोडको अबैध सामग्रीहरु बरामद गरेको छ ।
भारतिय ट्रकमा प्याजका बोराहरुले छोपी प्याजकै भन्सार बिल बनाई भन्सार छलेर ल्याइएको सामान प्रहरीले बरामद गरेको हो । जसमा विभिन्न किसिमका ९० बोरा अबैध कपडाहरु छन् । कपडासँगै २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालय समेतको निगरानीमा खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुचनाको आधारमा उक्त सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक टेबबहादुर कार्कीले बताए ।
हेटौंडा१५ स्थित रातोमाटे चेकपोष्ट अगाडी पुर्व पश्चिम सडकखण्डमा सिराहाबाट हेटौडा तर्फ आउदै गरेको 06 GE 5053 नं को भारतिय ट्रकलाई रोकी चेकजांच गर्ने क्रममा सो ट्रकको पछाडीको भागमा चारैतिरबाट प्रति बोरा ५० किलोको १६८ बोरा प्याजको भन्सार काटी प्याजकै बोराहरुले छोपी विच भागमा कपडा राखिएको थियो ।
कपडासँगै ट्रक चालक भारत पन्जाब राज्य जिल्ला लोदियाना ग्राम रसलपुर वडा नं ७ बस्ने बर्ष ३३ को रन्जौद सिंह र सह चालक भारत बिहार राज्य जिल्ला मोजफरपुर ग्राम माहामाद बस्ने बर्ष २६ को सुधिर कुमार सहनीलाई नियन्त्रणमा लिईएको छ ।
बरामद गरिएको सामग्री थप अनुसन्धानको लागी आन्तरिक राजश्व कार्यालय हरिहर भवन ललितपुर पठाईने कार्कीले बताए ।
जसमा पाईन्टको कपडा १ करोड २८ लाख ९६ हजार मुल्यको रहेको छ । यसैगरी सुटको कपडा ३ लाख, सर्टको कपडा १६ लाख ७६ हजार २५० रुपैयाको रहेको प्रहरीले अनुमान गरेको छ ।
यसैगरी कुर्था १ लाख ३ हजार रुपैयाँको, कोरा कपडा ५ लाख २५ हजार ४४७ रुपैयाको रहेको अनुमान प्रहरीले गरेको छ ।
ढुवानीमा प्रयोग भएको ट्रकको अन्दाजी मुल्य २० करोड रहेको कार्कीले बताए । यसैगरी सोही ट्रकमा ढुवानी गरिरहेको अन्दाजी ८४ कुन्टल प्याज पनि बरामद गरिएको छ ।

