निरा शर्मा
तिमी आकाश मेरो भूगोलको
तिमी प्रकाश मेरो सीमानाको
तिमी धर्ती मैले टेकेका पाइलाको
तिमी वृक्ष मेरो मझेरीको
त्यही वृक्षको हाँगामा
चचहुइ गर्दै जीवनको
आरोह अवरोह नाप्दै छु
तिम्रा विविध रङ्ग
र मेरा
असीमित रङ्गको संयोजनबाट
सजाएर यस भवनलाई
आकार दिएका छौ
भविष्य द्रष्टासॅग मिलेर
हिजोजस्तो लाग्छ मलाई
तिमी र म चुलिएर
हिमालयको गर्भबाट
सूर्यको प्रकाशसँगै
थोपा थोपामा सञ्चित भएर
कहिले धमिलिॅदै कहिले सङ्गलिॅदै
समयको नदीसॅगै सुसेली खेल्दै बगेको
फरक लाग्छ मलाई
तिम्रो पदचाप समाउनुपूर्वको
घडीको सुईको गति
र अहिलेको गतिमा
कति निश्चिन्त छु विकट बाटामा पनि
तिम्रा सान्निध्यले
तिमी मलाई सधै
अगाडि लागाएर हिॅड्छौ
तर कहिले भन्दैनौ
म पछि परेॅ भनेर
कहिलै भन्दैनौ
तिम्रो माया लागेरै
अगाडि लागाएको हुॅ भनेर
यस्तै भन्ने र गर्ने व्यवहारबाट
चरित्रको ऐना खुल्छ
तिमी मेरा लागि
काली गण्डकीरूपी जीवनमा
विरलैले पाउने शालिग्राम हौ
जसलाई व्याख्या गर्न सक्दिन
केवल अनुभूत गर्न सक्छु
यी सिन्दुर पोते चुरा
सबैले तिमीलाई सम्झाइरहन्छन्
बनेर सौभाग्यको कोसेली
कल्पना गर्न सक्दिन
भूखण्ड तिमीबिनाको
हो म तिम्रै पोतेले बेरिएकी छु
तिम्रै चुराले बाँधिएकी छु
तिम्रै सिॅदुरले तिमीलाई चिनाएकी छु
तिम्रै रङ्गको श्वास फेर्दै
आफ्नो अस्तित्वको हाँक दिन्छु
तर मैले कहिलै चाहिनॅ
तिमी पनि मेरै रङ्गमा बाॅच भनेर
तिमी आफ्नै रङ्गमा
मेरा लागि अमूल्य छौ
तिमी बाँचेको जमिन उर्वर होस्
तिमीले टेकेको हाॅगा दह्रो होस्
तिमीले हेर्ने हरेक सपनामा फल लागोस्
केवल म चाहन्छु
तिमीले हेर्ने सपनाको साक्षी
मलाई बनाऊ
अन्यथा तिमी पूर्ण भएर पनि
अपूर्ण हुनेछौ
पूर्णअपूर्ण ।
हेटौडा,मकवानपुर

