मकवानपुर । नीति तथा कार्यक्रममाथी छलफल र पारितको लागि प्रदेश सभा बैठक शुक्रबार बस्दैछ । जेठ १७ गतेबाट सुरु आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल नसकिएकाले शुक्रबारको बैठकमा पनि नीति तथा कार्यक्रम माथी छलफलको लागि बैठक आह्वान गरिएको हो ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकका अनुसार आज शुक्रबार विहान १०ः३० बजे बस्ने बैठकमा पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
आजको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफल सकिने र त्यसपश्चात प्रदेशको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
बागमती प्रदेश सभाको विहीबार बसेको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएको छ । विहीबारको पहिलो र दोस्रो बैठकमा सत्तापक्ष र प्रतिपक्ष गरी ३५ जना प्रदेश सभाका सदस्यहरुले आगामी आवको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै विभिन्न सुझाव दिएका थिए ।
गत बुधबार र विहीबारको बैठकमा नीति तथा कार्यक्रममाथी छलफलमा भाग नलिएका बाकी सदस्यहरूले आजको बैठकमा आ आफ्नो धारणा राख्ने छन् । छलफल सकिए पछि मुख्यमन्त्री र मन्त्रीहरूले उठेका कुराको जफाव दिने छन ।
प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादव चन्द्र शर्माले जेठ १४ गते सभालाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । प्रदेश सभामा उक्त नीति तथा कार्यक्रममा जेठ १७ गतेबाट छलफल सुरु भएको हो ।

