मकवानपुर । हेटौँडामा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगिताअन्तर्गत बिहिबार भएको खेलमा ९ र ११ नम्बर वडा विजयी भएको छ ।
हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको विहीबारको खेलबाट ९ नम्बर वडाले १६ नम्बर वडालाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हेटौंडा उपमहानगरपालिका खेलकुद शाखाका अधिकृत वसन्त कुमार सिटौलाले बताए । यस्तै विहीबारकै दोस्रो खेलबाट ११ नम्बर वडाले ७ नम्बर वडालाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको छ ।
प्रतियोगिताअन्तर्गत शुक्रबार १ र ५ नम्बर वडाबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल वडा नम्बर १२ र १४ बीच हुने कार्यतालिका छ । प्रतियोगिताको फाइनल खेल जेठ २७ गते हुनेछ । प्रतियोगितामा हेटौँडा उपमहानगरका १९ वडाको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेता १ लाख ५० हजार, सेमीफाइनलमा पराजित हुने २ वटा टिमलाई ५०/५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १५ र उत्कृष्ट खेलाडीहरुलाई ५/५ हजार रुपैयाँ नगदसहित शिल्ड एवम् मेडल प्राप्त गर्ने सिटौलाले जानकारी दिए ।

