मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा १८ महिने बालकको मृत्यु भएकाे छ । हेटौंडा १५ जाँते बस्ने १८ महिने बालक जेनिस वाईबाको विषादी सेवनका कारण मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार साँझ ५ः५० बजेको समयमा स्थानीय ३६ वर्षीया सानी पाख्रिनले आफ्नै छोरा वर्ष ७ को अस्किन वाईबा र १८ महिने छोरा जेनिस वाईबासहित प्यारा क्वाईट डाइक्लोराईड झार मार्ने विषादी सेवन गरेकी थिइन् ।
विषादी सेवन गरेका मध्ये जेनिसको उपचारकाे क्रममा विहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका जानकारी दिए । उक्त विषादी सेवनबाट गम्भीर बिरामी भएका उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको थियो । हेटौंडा अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलाई बुधबार राति ८ः२० बजेको समयमा नै थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा रिफर गरिएको कार्कीले बताए ।
उनीहरु मध्ये १८ महिने जेनिसको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा विहीबार बिहान ७ः५० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरीले जनाएकाे छ । सानी पाख्रिन र अस्किन वाईबाकाे भने पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । विष सेवनकाे कारण नखुलेकाे तथा घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे कार्कीले जानकारी दिए ।

