मकवानपुर । मकवानपुरको हेटौंडामा महिला खेल महोत्सव हुने भएको छ । हेटौडा उपमहानगरपालिकाको सहयोग एवम नगर खेलकुद विकास समितिको आयोजनामा जेठ ४ गते विहीबारबाट महिला खेल महोत्सव हुने भएको हो ।
खेल महोत्सव अन्तर्गत जेठ ४ गते हेटौडा महिला रन प्रतियोगिता, हेटौडा महिला स्लो स्कुटी रेस प्रतियोगिता हेटौडा महिला म्युजिकल चियर प्रतियोगिता र हेटौडा महिला डोरी तानातान प्रतियोगिता हुने हेटौंडा उपमहानगरपालिका युवा तथा खेलकुद शाखाका अधिकृत बसन्त कुमार सिटौलाले जानकारी दिए ।
यसैगरी जेठ ५ गते हेटौडा महिला फुटसल प्रतियोगिता, महिला भलिवल प्रतियोगिता आयोजना गरिने छ भने जेठ ६ गते महिला सेवेन ए साईड फुटवल प्रतियोगिता आयोजना गरि महोत्सव समापन गरिने कार्यक्रम रहेको सिटौलाले बताए ।
२ किलोमिटर हुने रन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै सान्त्वना २ जनालाई ५/५हजार शिल्ड मेडल प्रमाणपत्र प्रदान गरिने सिटौलाले बताए ।
महिला स्लो स्कुटी रेस प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्वितीय हुनेले ७ हजार ५०० र सान्त्वना २ जनालाई ५/५ हजार रुपैयाँ शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।
यसैगरी महिला म्युजिकल चियर प्रतियोगितामा प्रथम पुरस्कार १० हजार द्वितीय पुरस्कार ८ हजार, तृतीय पुरस्कार ६ हजार रहेको छ भने सान्त्वना स्वरुप चौथो पुरस्कार ४ हजार,पाचौ पुरस्कार २ हजार तथा शिल्ड मेडल, प्रमाणपत्र रहेको छ ।
यस्तै महिला डोरी तानातान प्रतियोगितामा प्रथम हुनेले २५ हजार द्वितीय हुनेले १५ हजार तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
जेठ ५ गते हुने महिला फुटसल प्रतियोगितामा प्रथम हुने समूहले १५ हजार द्वितीय हुने समूहले १० हजार रुपैयाँ तथा शिल्ड मेडल, प्रमाणपत्र प्राप्त गर्ने भएका छ्न । महिला भलिवल प्रतियोगितामा प्रथम द्वितीय हुने समुहले क्रमश: २५ हजार र १५ हजार रुपैयाँ तथा शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्ने अधिकृत सिटौलाले जानकारी दिए ।
जेठ ६ गते आयोजना हुने महिला सेवेन ए साईड फुटवल प्रतियोगितामा प्रथम हुने समुहलाई २५ हजार तथा द्वितीय हुने समुहलाई १५ हजार रुपैयाँ तथा शिल्ड मेडल प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
महोत्सवमा हुने सबै प्रतियोगितामा महिलाको मात्र सहभागिता रहने छन भने हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडा भित्र बसोबास भएकाहरुले मात्रै प्रतियोगितामा सहभागी जनाउन पाउने सिटौलाले बताए । यसको लागि सम्बन्धित वडामा बसोबास रहेको प्रमाण खुल्ने तोकिएका कागजात सम्लग्न गर्नु पर्ने छ ।
खेल महोत्सवको लागि हेटौंडा नगरका वडा तथा टोल विकास सस्थाहरुलाई ब्यक्ति तथा सस्थालाई सहभागी गराउन पत्राचार गरिएको उनले बताए ।


