मकवानपुर । हेटौंडामा आईतबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । हेटौंडा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत आइतबार दोस्रो दिन हेटौंडाको हुप्राचौरमा रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा २९ जनाले रक्तदान गरेको हेटौंडा जेसिजका अध्यक्ष श्रवणकुमार बर्तौलाले जानकारी दिए । अध्यक्ष बर्तौलाको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो ।
वैशाख ३० गते शनिबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जेठ १ गते जेसिज वक्तित्वकला प्रतियोगिता, जेठ २ गते मकवानपुर बहुमुखी क्याम्पसमा सामान्य ज्ञान प्रतियोगिता, जेठ ३ गते मुख्य बजार क्षेत्रमा ‘स्लो बाइक’ प्रतियोगिता हुने जेसिजले जनाएको छ ।
यस्तै जेठ ४ गते हेटौंडा– १५ चिप्लेटीस्थित सामुदायिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ भने जेठ ५ गते समापन समारोह आयोजना गरी विभिन्न प्रतियोगितामा विजयी भएकाहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको जेसिजले जनाएको छ ।
रक्तदान कार्यक्रममा हेटौंडा जेसिजका पूर्व अध्यक्षहरु कुश कुमार रिजाल, राजदेव बानियाँ र काव्यमणि अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।
