मकवानपुर । २२ औं संस्करणको फिफा विश्वकप फुटबल अन्तरगत सेमिफाइनल खेल मंगलबारबाट हुने भएको छ । आइतबार राति भएको अन्तिम क्वार्टरफाइनल खेलबाट फ्रान्स विजयी भए पछि सेमिफाइनल समीकरण पूरा भएको हो ।
कतारमा जारी विश्वकपमा यसपालि साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्कोले सेमिफाइनलको यात्रा तय गरे ।
कतार विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाको प्रतिस्पर्धा मंगलबार राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४-२ ले हराउँदै सेमिफाइनलको यात्रा गरेको हो । त्यस्तै, क्रोएसियाले ब्राजिललाई पेनाल्टीमै हराएर सेमिफाइनल प्रवेश गरेको हो ।
त्यस्तै, दोस्रो सेमिफाइनल मोरक्को र फ्रान्स बिछ हुनेछ । यी दुई टोलीबीचको सेमिफाइनल भिडन्त बुधबार राति १२ः४५ बजे अल बेत स्टेडियममा सुरु हुनेछ । अन्तिम क्वाटरफाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । शनिबार भएको क्वाटरफाइनल खेलबाट मोरक्को सेमिफाइनल प्रवेश गरेको छ । पोर्चुगललाई १-० ले हराउदै मोरक्को सेमिफाइनल प्रवेश गरेको हो ।

