मकवानपुर । हेटौंडाको नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयले विद्यार्थीलाई चण्डीपाठ गराउँदै दशैंको मौलिकता बारे ज्ञान दिलाएको छ ।
किताब घोकेर मात्रै सिकाइ जीवन्त नहुने भन्दै विद्यालयले विद्यार्थीलाई व्यवहारीक ज्ञान दिने जमर्को गरेको हो । हेटौंडा, ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा फरक तरीकाले आयोजना गरिएको हो । कार्यक्रममा उक्त विद्यालयका १३ जना विद्यार्थीले एक एक अध्याय चण्डी पाठ पढेका थिए । साथै बडा दशैको विभिन्न तिथीमा गरिने क्रियाकलापहरु कार्यक्रममा गरिएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद भट्टराईले दुर्गा पूजा गरिएको स्थानमा कुभिन्डोको बलि दिएका थिए ।
विद्यालयका नेपाली विषयका सुपरिवेक्षक सिएम रिमालले मुल पण्डितको भूमिका निर्वाह गर्दै दशैं पर्वमा दुर्गा पूजाको विधिबारे जानकारी गराएका थिए । विद्यालयका प्रिन्सिपल सकुन्तला जोशीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको आफूले पनि नवरात्र व्रत बसेको र पूजाको कार्य गरेको बताए ।
कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले गायन, नृत्य प्रस्तुत गर्नुका साथै वातावरणसम्बन्धी नाटकसमेत प्रस्तुत गरेको थियो । विद्यालयका प्रिन्सिपल सकुन्तला जोशी र पुरनबहादुर जोशीले शिक्षक कर्मचारीलाई टीका लगाउँदै आशीर्वाद प्रदान गरेका थिए ।
कक्षा शिक्षकले विद्यार्थीलाई टीका लगाएर आशीर्वाद र दक्षिणा प्रदान गरेका थिए । धार्मिक संस्कृतिको जगेर्ना गर्न र विद्यार्थीलाई चाडपर्वको बारेमा जानकारी गराउने उद्देश्यले विद्यालयले हरेक वर्ष कार्यक्रम गर्दै आइरहेको रिमालले बताए ।
चाडपर्वको मौलिकता लोप हुँदै आएको बेला विद्यालयतहबाट यस्ता व्यवहारीक ज्ञान दिनुलाई सकारात्मक पाटोको रुपमा लिइएको छ ।

