मकवानपुर । मकवानपुरमा थप १ सय १२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय मकवानपुरले विहीबार २४ घण्टामा १ सय १२ जनामा डेंगु भएको जानकारी दिएको हो ।
यस्तै नेपालमा ५ सय ४० जनामा डेंगु संक्रमित थपिएका छन् । डेंगु संक्रमणबाट एकैैदिन २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको मन्त्रालयले जनाएको छ ।
मकवानपुर विहीबार डेंगु पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । हेटौंडामा ९४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी, मकवानपुरगढी गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका ४ जना र भीमफेदी गाउँपालिकाका १ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या २ हजार ८ सय ७६ जना पुगेको छ । जसमध्ये १ हजार ६ सय १३ जना पुरुष र १ हजार २ सय ६३ जना महिला रहेका छन् । जिल्ला उक्त संक्रमणका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यता स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार, साउन महिनायता २८ हजार १ सय ९ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । हाल मुस्ताङबाहेक ७६ जिल्लामा संक्रमितको बिरामी देखिएका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९ सय ७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १ सय २५, सुदूरपश्चिम प्रदेशमा ८ सय ५० जना, गण्डकीमा ६ सय ७७ जना, मधेश प्रदेशमा ४ सय १३ जना र कर्णाली प्रदेशमा २ सय ३८ जनामा संक्रमण देखिएको छ ।

