प्रीति आत्रेय ज्ञवाली
१.
घरको बारीमा, केरा पसाएको छ
त्यस्तै अम्बाले, घर बसाएको छ
घर कैले आउने, भन्नुहुन्छ बा-आमा,
के गरौँ विदेशमा, आँखा रसाएको छ ।
२.
पितृ-पुर्खाको आदर्श, एवं संस्कारमा बाँचिँदैछ
त्यस्तै सन्तानको सुखद्, भविष्य निम्ति लागिँदैछ
यसैगरी समय बितिगयो, बित्दैछ र सकिँदै जान्छ,
साँचेका कुरालाई पूर्णता दिन, हर्दम पाइला चालिँदैछ।
३.
जति जे भनेपनि मन पर्छ, आफ्नै चाड र भाषा भेष
विकसित नभएपनि रमाइलो, लाग्छ आफ्नै घर देश
मन यो सधैँ लोभिन्छ है, आफ्नै संस्कार र संस्कृतिमा,
समयको यो खेलमा कहिले विदेश कहिले देश प्रवेश ।
४.
नहोस् कुनै कुराले पनि, तिम्रो त्यो मन कहिल्यै भरङ्ग
फैलिऊन् तिम्रा तन~मनमा, सधैँ सुख र खुशीका तरङ्ग
नझरून् आँसु तिनी आँखाबाट, झरे पनि खुशीकै झरून्,
प्रीतिले प्रीतिकै भावले, शुभकामना व्यक्तिएँ छर्दै उमङ्ग ।
बुटवल हाल कम्बोडिया

