मकवानपुर । हेटौंडामा जारी मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधिमा मकवानपुरगढी गाउँपालिकाले जित हात पारेको छ ।
बुधबार हेटौंडाको हुप्रचौरमा भएको फाइनल खेलमा बकैया गाउँपालिकालाई पराजित गर्दै उपाधी जितेको हो । मकवानपुरगढीले बकैयालाई २५–१५, २५–१९ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । उपाधिसँगै मकवानपुरगढीले नगद ५० हजार सहित शिल्ड, मेडल हात पार्दा उपविजेता बकैयाले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल हातपार्न सफल बन्यो ।
प्रतियोगितामा मकवानपुरगढीकी सुस्मिता योञ्जन उत्कृष्ट खेलाडी घोषित भईन् । मकवानपुरगढीकै सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर, रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन, उदीयमान खेलाडी मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दिपिका कार्की भए ।
प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले पुरस्कार प्रदान गरेकी थिईन् ।
यसअघि सोमबार सम्पन्न उपेमयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेता तथा उपविजेतालाई पनि बुधबार नै सिल्ड, मेडल तथा प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरिएको छ । उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दुबै उपाधि हेटौंडा–१७ ले जितेको थियो । पुरुषतर्फ हेटौंडा–१९ उपविजेता बनेको हो । महिलातर्फ हेटौंडा–५ उपविजेता बनेको थियोे ।

