मकवानपुर । नेपाली कांग्रेसकी केन्द्रीय सह महामन्त्री महालक्ष्मी उपाध्याय डीनाले हरितालिका तीज पर्वलाई महिलाहरुको अधिकारकाे लडाईकाे रुपमा मनाउनु पर्ने बताएकी छिन् । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ मकवानपुरको आयोजनामा शनिवार भएको तीज विशेष कार्यक्रममा उनले भनिन् तीज पर्व पिर बेदना पोख्ने र पर्वकै रुपमा भन्दा पनि अधिकारको लडाईको रुपमा लिनुपर्ने बताएकी हुन् ।
हिन्दु महिलाहरुले मनाउने तीज पर्वलाई महिला हक अधिकार प्राप्तिको लागि उर्जाको रुपमा प्रयोग गर्नुपर्ने उनले बताइन् । ‘महिला अधिकार प्राप्तीका लागि राजनितिक क्षेत्रमा महिलाहरुले प्राप्त गरेकाे ३३ प्रतिशतलाई बढाउनु पर्छ’ उपाध्याय डिनाले भनिन् ‘आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ महिलाहरुका लागी ५० प्रतिशत सिट पक्का गर्न पहल गरिरहेका छाै ।’
नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सह–सचिव इन्दिरा न्यौपाने, जिल्ला सदस्य तारा राई, नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव इटेनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश वानियाँ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

