कविता शर्मा
किन लाउने साउनमा हरियो ?
जसरी असारमा रोपेको बिऊ साउन महिनामा हरियो हुने साथै मनमा उर्वरता उत्साह र उमंगको लहर छाउने गर्छ उसैगरि श्रावण महिनामा हरिया चुरा हरियो पोते र हरियो पहिरन अनि हातको मेहेन्दीले मनमा नया उमंग जोस र जाँगर छर्ने गर्छ भन्ने मान्यता छ । साउन महिनालाई शिवजीको अराधना गर्ने पावन महिना पनि भनिन्छ ।
किन फाल्ने लुतो ? अनि किन गर्ने महादेवको पुजा?
हिन्दु संस्कृतिमा श्रावण महिनाको पहिलो दिनलाई साउने संक्रान्तिपर्वको रुपमा लिइन्छ । साउन महिनाले नेपालीखास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरुलाई भित्र्याउने गर्छ साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसक पूजागर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ ।
विवाहित महिलाहरु साउने संक्रान्तिदेखि साउन महिना भर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार ब्रत बसी शिवको पूजा आराधना गर्दछन् । धार्मिक दृष्टिले साउन महिना पवित्र महिना मानिन्छ । त्यसमा पनि साउनको सोमबारको छुट्टै महत्व रहि आएको छ ।
परम्परागत संस्कृतिलोप हुँदै गएको बताइए पनि नेपाली महिलाहरुले भने साउन महिनाको सोमबारलाई विषेश रुपमा मनाउँदै आएका छन् । कसैले परम्परा जोगाउनको लागि त कसैले फेसनकै रुपमा हरिया चुरा र मेहेन्दी लगाएर साउने सोमबार मनाउने गरेका छन् ।
हिन्दु महिलाहरुले साउन महिनालाई विशेष महत्वका रुपमा लिने गरेका छन् । साउन महिनामा पार्वतीले शिवलाई पाउनका लागि ब्रत बसेको र ब्रतकै कारण पार्वतीले शिवजी पाएको धार्मिक विश्वासमा नेपाली महिलाहरुले श्रीमानको भलाइको कामना गर्दै ब्रत बस्दै आएका छन् ।
हरेक वर्षको साउनको सोमबार नेपाली हिन्दू महिलाहरु ब्रत बस्ने गर्दछन् । साउन महिनाभर माछा मासु नखाई, हरियो चुरा र मेहेन्दीलगाई ब्रत बस्दा अविवाहित महिलाहरुले राम्रो वर र विवाहितहरुले आफ्नो पतिको आयु लामो हुने तथा परिवारमा सुख शान्ति र अटल सौभाग्य प्राप्तहुने जनविश्वास रहेको छ ।
बँगैगाउँ गुहावटी, आसाम

