मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिकाले इ–पेमेन्ट अर्थात अनलाइन भूक्तानी प्रणाली शुरु गरेको छ । अब सेवाग्राहीले घरमै वा आफ्नो कार्यालयमा नै बसेर नगरपालिकालाई तिर्नुपर्ने सबै प्रकारको कर तिर्न सक्ने छ ।
यो संगै भ्याईनभ्याई गरि कार्यालय धाएर, कर तिर्नको लागि लाईन बसेर प्रतीक्षा गर्नुपर्ने झन्झट टरेको छ ।
नगर कार्यपलिकामा नयाँ जनप्रतिनिधि आएपछि सेवा ग्राहिको सजताको लागि अनलाइन सेवा सुरू गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । सोहि अनुसार अनलाइन प्रणालीबाट विभिन्न सेवाको सुरूवात गरेको हो ।
नगरपालिकाले चालु आर्थिक वर्षको १७ असारसम्म मात्र एकसय बढि आपूर्तिकर्ता, निर्माण व्यवसायी तथा व्यक्तिहरुको भूक्तानी इ–पेमेन्ट मार्फत गरिसकिएको थाहा नगरपालिकाका लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगरले जानकारी दिए ।
थाहा नगरपालिकाले संघीय संचित कोषमा जम्मा हुने सबै प्रकारको कर तथा निर्माण व्यवसायी, परामर्शदाता, आपूर्तिकर्ता र अन्य सेवा प्रदायक संस्था र व्यक्ति सबैको कट्टी गरेको विभिन्न कर समेत इ–टिडिएस गर्ने कार्य थालिसकेको छ ।
नेपाल सरकारले विकास गरेका इसेवा प्रणाली तथा प्रविधि प्रयोगमा ल्याइरहँदा यसबारे आम सरोकारवालालाई सुसुचित गराउन सके थप प्रभावकारी हुने लेखा अधिकृत खपाङ्गी मगरले जानकारी दिए ।
पूर्ण रुपमा ई–पेमेन्ट कार्यान्वयनका ल्याउनका लागि पालिकाबाट भूक्तानी लिनेको बैंक खाता अनुसारको नेपाली तथा अंग्रेजी नाम, बैंकको नाम, शाखा, खाता नम्बर र सम्बन्धितको प्यान वा भ्याट नम्बर अनिवार्य हुनुपर्ने उनले जानकारी दिए ।
पालिकाले १७ असारसम्म एक करोड बढिको भुक्तानी इ–पेमेन्ट मार्फत गरिसकेको लेखा अधिकृत खपाङ्गी मगरले जानकारी दिए । ‘हामीले आपूर्तिकर्ता, निर्माण व्यवसायी, संस्थागत व्यक्तिगतलगायतको इ–पेमेन्ट गरिरहेका छौँ, असार महिनाको कर्मचारीको तलब ई–पेमेन्ट गर्ने तयारी पूरा भएको छ’– खपाङ्गी मगरले भने ।
आगामी आर्थिक वर्ष २०७९/०८० बाट पूर्णतः इपेमेन्ट प्रणाली प्रयोगमा ल्याउँने तयारी नगरपालिका लागि परेको मेयर बिष्णु बिष्टले बताए ।
पालिकाले आगामि आर्थिक वर्षबाट सबै प्रकारको खरिद वस्तु, निर्माण कार्य, परामर्शदाता र अन्य सेवाको खरिदको लागि खरिद इकाइ, मुल्याङ्कन समिति र रुजु समितिलाई समेत थप क्रियाशील गराई सेवा प्रवाह गरिने मेयर बिष्टले बताए ।
नगरमा तिर्नुपर्ने करलाई पनि पूर्णतः अनलाईन प्रणाली बनाइने प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । थाहा नगरले यसअघि पनि एउटा वडाको कर अर्को वडाबाट तिर्न सकिने व्यवस्था गरेको थियो ।

