मकवानपुर / खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले विश्व खाद्य स्वच्छता दिवसको अवसरमा बेकरी तथा डेरि उद्योगका सन्चालकहरूसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
उच्च सरकारी वकिल कार्यालयका सह न्यायधिवक्ता सन्देश श्रेष्ठको प्रमुख आतिथ्यमा आज अन्तक्रिर्या कार्यक्रम गरिएको हो । प्रचलित ऐन नियमको परिधिमा रहेर उपभोक्ता स्वास्थ्यको हितलाई मध्य नजर गर्दै उत्पादन गर्न सह न्यायधिवक्ता श्रेष्ठले आग्रह गरे ।
कार्यक्रम एकीकृत किट व्यवस्थापन, खाद्य स्वच्छता कामय राख्ने सम्बन्धमा डाक्टर क्षितिज श्रेष्ठ, उद्योगी राजकुमार गुप्तालगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । झण्डै ५० जना उद्योगिहरू सहभागी रहेको कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्च नेपालका उपाध्यक्ष बासु खतिवडा, उपभोक्ता मन्च मकवानपुरका नवराज कोइरालालगायतको पनि उपस्थिति रहेको थियो ।
खाद्य स्वच्छतालाई ध्यान नदिइकन गरिने प्याकिङ तथा लेबलिङको सवालमा धेरै कुराहरूमा सुधार आवश्यक भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख डाक्टर क्षितिज श्रेष्ठले बताए । अनुगमनको क्रममा भेटिएका त्रुटिलाई सच्याउन कार्यालयले पटक पटक सचेत गराईएको भएपनि सुधार नभएपछि अब लाईसन्स खरेजी जस्तो कठोर पाइला चाल्नुपर्ने अवस्था आएको उनले बताए ।
तयारी खाद्यमा लेबलिङ गर्दा कागजमा मसिले पृन्ट गरिएको लेबलिङ खाद्यन्नमा सिधै छोएर नराख्न कार्यालयले आग्रह गरेको तर सुनुवाई नभएको उनले बताए । “यसरी मसिले छोएको खानेकुरा खाँदा क्यान्सर समेत हुनसक्छ” उनले भने “लेबलिङलाई छुट्टै प्लास्टिकमा प्याक गरेर राख्न भनेका छौ, अब उपभोक्ताले पनि ख्याल गर्नुहोला ।”
खाद्य स्वच्छता दिवसको अवसरमा कार्यालयले नगरपालिका, जिल्ल प्रशासन कार्यालय,हेटौंडा औद्योगिक क्षेत्रलगायको स्थानमा खाद्य स्वच्छता सचेतना सम्बन्धी फ्लेस बितरण, सूचना तथा उपभोक्तालाई लक्ष्यित गरि सचेतना सन्देश प्रकाशन प्रसारण, ब्रुसरहरू बितरण जस्ता कार्य गरेको सूचना अधिकारी प्रगती अधिकारले बताइन् । प्रत्येक बर्ष जुन ७ मा विश्व खाद्य स्वच्छता दिवस मनाइन्छ ।

