मकवानपुर । मकवानपुरको हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप २०७९ अन्तर्गत आजबाट दोस्रो चरण अर्थात क्वाटरफाइनल तर्फको खेल सुरु हुँदैछ ।
आजको प्रतियोगितामा दुई बिभागिय टिम भिड्दै छन् । अघिल्लो संस्करणको विजेता टिम त्रिभुवन आर्मी फुटबल क्लबलाई उपाधी रक्षा गर्ने पहिलो जिम्मेवारी रहनेछ । नकआउट प्रतियोगितामा साबिक विजेता आर्मीलाई नेपाल एपिएफ क्लबले चुनौती प्रदान गरेको छ । रनिङशिल्ड प्रतियोगिताकाको लगातार दोस्रो पटक उपाधी जित्ने लक्ष्यलाई जिवित राख्न विभागीय टिम आर्मीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।
एपिएफले आफ्नो पहिलो खेलमा फ्रेन्डस् क्लब काठमाडौं बिरुद्ध ३–० गोलको सहज जीत हात पार्दै क्वाटरफाइनल प्रवेश गरेको थियो । खेल आज दिउँसो ४ बजेबाट सुरू हुंदैछ ।
३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहको आयोजकले बताएको छ ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाासहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।
अघिल्लो बर्षझैं यस बर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडाको हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साईन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् । प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।

